तपाईँ सुन्दै हुनुहुन्छः

२ सय ३६ केन्द्रीय सदस्य चयन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २ सय ३६  केन्द्रिय सदस्यको चयन गरेको छ ।  

नेकपा माओवादीको आठौँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्रले २ सय ३६ केन्द्रिय सदस्यको सहमतिबाट टुङ्गो लगाएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको समानुपातिकतर्फको १२५ र खुलातर्फ १११ जना गरी कुल २ सय ३६ केन्द्रिय सदस्यहरूको नामावली बन्द सत्रबाट पारित गरेको हो । 

file photo

विभिन्न क्लस्टर मिलाएर २३६ जनाको नाम आज घोषणा गरिए पनि बाँकी ६३ केन्द्रीय सदस्य चयन गर्न भने बाँकी छ । 

महाधिवेशनबाट चयन हुने २९९ केन्द्रीय सदस्यमा थप १५ प्रतिशत सदस्यको केन्द्रिय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।  

माओवादी केन्द्रले बन्दसत्र अघिपछि र बन्दसत्र चलिरहेका बेलामा समेत स्थायी कमिटी बैठक बसेर केन्द्रिय सदस्य चयन सहमतिमार्फत चयन गर्न पटक पटक छलफल गरेको थियो ।  

यसैगरी आजै माओवादी केन्द्रले तीन वटा आयोगको जिम्मेवारी पुरानै नेतृत्वलाई दिएको छ । माओवादी केन्द्रले अनुशासन आयोगको अध्यक्षमा टङ्क राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई चयन गरेको थियो । केन्द्रिय कमिटीमा उपस्थित हुन पाउने यी तीन वटै आयोग २५ सदस्यीय हुनेछ ।

माओवादी केन्द्रको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटीमा जस अनुसार केन्द्रीय समितिमा ५० प्रतिशत पूर्ण समानुपातिक, ५० प्रतिशत खुल्ला र १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरेको छ । 

केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था छ । 

समानुपातिक तर्फ निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा खस आर्यतर्फ ४५, आदिवासी जनजातितर्फ ४३, मधेसीतर्फ २३, दलिततर्फ  २२, थारुतर्फ  १०, मुस्लिम ७, अपाङ्गता र पिछडिएको क्षेत्रतर्फ बाट २/२ जना रहने र खुलातर्फ १ सय ४५ जना केन्द्रिय सदस्य रहने विधानमा व्यवस्था छ । 

महाधिवेशनले केन्द्रीय कमिटी चयन गरे पनि पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी भने केन्द्रीय कमिटीले गर्नेछ । 

यस्तै पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ ।

यसैगरी विधानले व्यवस्था गरेको १५ पदाधिकारी चयन भोलि सुरु हुने माओवादी केन्द्र केन्द्रिय निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button