झापामा हल्दिबारीकी नेत्रकुमारीले जन्माइन् तिम्ल्याहा बच्चा

भद्रपुर, झापा । झापाको हल्दीबारी–२ की नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिनुभएको छ ।
शनिबार साँझ झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको हो ।
मनमोहन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.एकराज गौतम नेतृत्वको चिकित्सकीय टोलीले गरेको डेढ घण्टा लामो शल्यक्रियापछि ती शिशु जन्मिएका हुन् ।
तिम्ल्याहा शिशुमध्ये दुई जना छोरा र एक छोरी छन् । पहिलो जन्मिएको बच्चाको तौल २.२ किलो छ । दोस्रो बच्चाको तौल १.६ र तेस्रो बच्चाको तौल २ किलो रहेको डा. गौतमले जानकारी दिनुभयो ।
सुरुमा पटक पटक बच्चा खेर जाने समस्या देखिएपछि चिन्तित भएका नेत्रमाया र उनका श्रीमान् सन्तोष पराजुली एक वर्षअघि मनमोहन अस्पतालको सम्पर्कमा आउनुभएको थियो ।
डा.गौतमले पाठेघरको जाँचपछि नेत्रमायाको औषधि उपचार सुरु गर्नुभएको थियो । निरन्तरको जाँच र चिकित्सकीय निगरानीपछि ३५ सातामा शल्यक्रिया गरी बच्चा निकालिएको हो ।
डा.गौतमका अनुसार तीनै जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ । यद्यपि, उनीहरूलाई चिकित्सकीय निगरानीमा अस्पतालमै राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्