तपाईँ सुन्दै हुनुहुन्छः

आज केन्द्रीय समितिको टुङ्गो लाग्ने

फाइल तस्बिर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशन अन्तर्गत आजको बन्दसत्रले केन्द्रीय समितिको टुङ्गो लगाउने भएको छ । 

प्रज्ञा भवन कमलादीमा पुस ११ गतेदेखि जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा हिजो दिनभर सहमतिबाट केन्द्रीय सदस्य चयन प्रयास गरेपनि सम्भव नभएपछि आज दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

बन्दसत्र सुरु हुनु अघि केन्द्रीय समितिका लागि विभिन्न प्रदेशबाट आएका समावेशी नामलगायत केन्द्रीय समिति सर्वसम्मत बनाउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसेको छ । 

आजको बन्दसत्रले केन्द्रिय सदस्य चयनका लागि आज पनि सहमतिको प्रयास गर्ने र सो सम्भव नभए मतदान प्रक्रियामार्फत केन्द्रीय समितिको टुङ्गो लगाउने छ । 

त्यसका लागि माओवादी केन्द्र निर्वाचन आयोगले दिउसो २ बजेदेखि निर्वाचन प्रक्रिया थाल्ने गरी समय तालिका समेत सार्वजनिक गरिसकेको छ । 

माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत हिजो २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्थासहितको विधान पारित गरेको थियो । 

नयाँ विधान अनुसार २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत पूर्ण समानुपातिक, ५० प्रतिशत खुल्ला र १५ प्रतिशत मनोनीतमार्फत केन्द्रिय समिति चयन हुने व्यवस्था गरेको छ । 

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था छ । 

समानुपातिक तर्फ निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा खसआर्य तर्फ ४५, आदिवासी जनजातितर्फ ४३, मधेशीतर्फ २३, दलिततर्फ  २२, थारुतर्फ  १०, मुस्लिम ७, अपाङ्गता र पिछडिएको क्षेत्रतर्फ बाट २/२ जना रहनेछन् भने खुलातर्फ १ सय ४५ जना केन्द्रिय सदस्य रहेछन् । 

महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्नेछ भने पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ । 

यस्तै पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button