तपाईँ सुन्दै हुनुहुन्छः

‘दलितलाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउन जरुरी’

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दलितलाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सशक्त नबनाएसम्म मुलुकको गरिबी हटाउन कठिन हुने बताउनुभएको छ । 

पार्टीको समाजवादी दलित मुक्ति सङ्गठन नेपालको राष्ट्रिय भेलाको आज जनकपुरधाममा उद्घाटन गर्दै वर्ण व्यवस्थाका कारणले दलितमाथि सदियौँदेखि विभेद भएकाले सो व्यवस्थालाई परिवर्तन नगरेसम्म विभेद कायमै रहने बताउनुभयो । 

उहाँले मधेस आन्दोलन केहीलाई मन्त्री बनाउनका लागि मात्र नभएको बताउँदै यस्ता प्रकारको विभेदको अन्त्य गर्न तथा समतामूलक समाजको निर्माण गर्नका लागि भएकाले यसमा चुकेको बताउनुभयो । 

जसपाका अध्यक्ष यादवले वर्तमान संविधानमा अहिले पनि धेरै विषयहरू समावेश हुनबाट छुटेको बताउँदै संविधानको परिमार्जन एवं संशोधन आवश्यक भएको बताउनुभयो । 

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं २ मा रहेका १८ प्रतिशत दलितलाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सशक्त नबनाएसम्म प्रदेश एवं देशको विकास हुन नसक्ने भएकाले प्रदेश सरकारले दलित सशक्तीकरण ऐन ल्याएर विभिन्न प्रकारको सेवा तथा सुविधा प्रदान गर्ने नीति ल्याएको बताउनुभयो । 

समाजवादी दलित मुक्ति सङ्गठन नेपालका अध्यक्ष खिमबहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, प्रदेश सभाका सदस्य चमेली देवी दास सहितका वक्ताहरूले दलित अधिकारको लागि दलितहरूलाई  सङ्गठित हुनका लागि आग्रह गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button