तपाईँ सुन्दै हुनुहुन्छः

मनाइयो राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ । जागरूक युवा अभियान नेपालको आयोजनामा नवौँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको छ ।

‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाएका हुन् । 

कोरोना जोखिम कायमै रहेकाले धेरै भिडभाड नगरी दिवस मनाइएको अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७१ देखि दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोसाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिएको छ । 

नौ वर्ष अघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोसाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।

नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोसाकको पुनर्जागरण हुन थालेको छ । औपचारिक रूपमा राष्ट्रिय पोसाक हटाइएपछि युवा जागरूक भएर यो अभियान सुरु गरेका हुन् । 

उत्साही युवा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्दन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल, जनक कार्की र लक्ष्मण लम्सालले सुरु गरेको यो अभियान अहिले हजारौँ युवामाझ लोकप्रिय भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button