तपाईँ सुन्दै हुनुहुन्छः

पुनः शुरु हुँदैछ बेसहाराको उद्धार

काठमाडौँ ।चिसो मौसम शुरु भएसँगै सडकमा पुगेका असहाय मानिसको कष्टकर जीवनलाई मध्यनजर गरी यस पटक पनि मुलुकभर नै बेसहाराको राष्ट्रिय उद्धार अभियान शुरु हुँदैछ । नेपाललाई नै बेसहारा सडक मानव मुक्त बनाउने अभियान थालेको मानवसेवा आश्रमले गत वर्ष झैँ यसपाली पनि मेची–महाकाली सडक उद्धार अभियान चलाउन लागेको हो । त्यसको आवश्यक तयारी पूरा भएको छ ।

शनिबार अभियानको पुर्वसन्ध्यामा कैलालीमा रात्रिकालीन सडक सेवा (उद्धार अभियान) चलाइने र आइतबारदेखि पश्चिम नेपालको महाकाली पुलबाट उद्धार अभियानको थालनी हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । गत वर्ष भने प्रधानमन्त्री निवासमा शुभारम्भ गरिएको अभियान पूर्वको मेचीपुलबाट प्रारम्भ गरिएको थियो । “अघिल्लो पटकको यात्रामा हामी आफैँले सडक आश्रितको उद्धार ग¥यौँ, जसले गर्दा जानकार हुनुपर्ने स्थानीय निकायलाई सडक मानवको अवस्थाबारे बुझाउन सकेनौँ, यस पटक स्थानीय जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरेर उद्धार गरिनेछ”, अधिकारीले उद्देश्यबारे प्रष्ट्याउनुभयो ।

गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय अभियानको शुभारम्भ गरिएको थियो । गत वर्ष पनि यही चिसो मौसममा गरिएको अभियानका क्रममा सडकपेटीमा दयनीय जीवन व्यातित गरिरहेका ७५८ ले आश्रय पाएका थिए । यस पटक भने विगतको जस्तो ठूलो समस्या नभएको अभियानकर्मीको भनाइ छ ।

“गत वर्ष समाजमा कम चेतना थियो, त्यसैले सडकमा धेरै सहाराविहिन हुनुहुन्थ्यो”, अभियन्ता मनोज घिमिरेले भन्नुभयो, “अहिले चेतना पनि बढेको, स्थानीय तहसँगको समन्वय भएको र आश्रमले पनि नियमित उद्धार र संरक्षण अभियान चलाउँदै आएको छ, त्यसैले विगतको जस्तो धेरै समस्या नहोला भन्ने छ ।” भेटिएकालाई भने आश्रमका सेवा केन्द्रमा राखिने छ । हाल नेपालको सातै प्रदेशका विभिन्न जिल्ला २५ सेवा केन्द्रमार्फत बेसहारालाई संरक्षण दिँदै आइएको छ ।

मुख्यतः अहिले मौसम चिसो बन्दै गएको छ । सामान्य मानिसको समेत जनजीवन प्रभावित भएका बेला भोकै÷नाङ्गै सडकमा बस्नेहरूका जनजीवन कति दयनीय होला सोच्न समेत सकिँदैन । चिसोका कारण कतिपयको अकालमै मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार अहिले सडकपेटीमा बेवारिसे मानिसको मृत्यु भएका घटना बढ्न थालिसकेको छ ।

यसअघि २०७७ पौष ९ गतेदेखि माघ १६ गतेसम्म मानवसेवा आश्रमले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका सडकमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) भएकाहरूका उद्धार गरेको थियो । यसपाली अभियानका क्रमा सडक पेटी र सार्वजनिक स्थलमा रहेका कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी व्यक्तिको अवस्था अध्ययन तथा उद्धारसँगै भजन सन्ध्या आयोजना गर्ने र वार्षिक विवरणसमेत प्रस्तुत गर्दै जाने कार्यक्रम रहेको जनाइएको छ ।

आश्रम परोपकारी व्यक्तिले विवाह वर्षगाँठ, जन्मदिन, ब्रतबन्ध, पुजापाठ वा पितृ स्मरणको कार्यक्रम एवं स्वेच्छिक सहयोगबाट सञ्चालन भइरहेको संस्था हो । पछिल्ला समयमा भने सरकारी निकायको समन्वय बढ्दो छ, तर पर्याप्त छैन । आश्रममा भार पनि बढिरहेका जनाइएको छ । प्राप्त विवरण अनुसार व्यवस्थापनमा ४० प्रतिशत सरकारी सहयोग प्राप्त भए पनि अझै ६० प्रतिशत खर्चको जोहो गर्न समस्या छ ।

आश्रम विगत १० वर्षदेखि जसका कोही छैनन्, जसको केही छैन, उनैको सेवामा समर्पित भन्ने आदर्शलाई आत्मसाथ गरेर सडकमानवहरूको उद्धार, उपचार, परामर्श र संरक्षण गर्दै आइरहेको छ । विसं २०८२ सम्ममा मुलुकलाई नै सहयोगापेक्षी सडक मानव मुक्त बनाउने उसको योजना छ । विसं २०६९ सालमा हेटौडाबाट उक्त अभियान शुरु भएको थियो । आश्रमका २५ शाखामा हाल एक हजार ५६७ वेसहाराहरू आश्रित छन् । हालसम्म उसले २ हजार ४६२ लाई पारिवारिक पुनर्मिलन गराइसकेको छ छ । कष्टकर अवस्थामा पुगेको ६५० जनाको आश्रममा निधन भएको छ । यस्तै विभिन्न कारणले सडकमा पुगेका २ हजार ८० जनालाई समुदायमा नै फर्काइएको अभियन्ता घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button