तपाईँ सुन्दै हुनुहुन्छः

सौराहामा पर्यटक कम आए

चितवन। अघिल्ला वर्षमा क्रिसमस अघिदेखि नयाँ वर्षसम्म सौराहाका होटेलमा पर्यटकको निकै चहलपहल हुने गर्थ्यो । यस वर्ष भने सोचे जस्तो चहलपहल नभएको व्यवसायीले जनाएका छन् । हरेक वर्ष क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्दछ ।

यस वर्ष पनि ती दिन पर्यटकले भरिने भए पनि अघिल्ला र पछिल्ला दिनमा सोचेजस्तो पर्यटक नआएको व्यवसायीको गुनासो छ । क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई गत वर्ष क्रिसमस अघिदेखि होटेल ६५ प्रतिशत हाराहारी भरिने भए पनि यस वर्ष ४० प्रतिशत कट्न नसकेको बताउनुहुन्छ । नेकपा एमालेको महाधिवेशनपछि सौराहामा पर्यटकको सङ्ख्या बढ्दै जाने अपेक्षा गरिएको थियो । भट्टराईको भनाइमा कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभावका कारण पर्यटकको आगमनमा कमी भएको हुन सक्छ । उहाँले भन्नुभयो, “घुम्ने र रमाउनका लागि आर्थिक अभावका कारण पर्यटक कमी भएको हुन सक्छ ।”

कोभिडका कारण थला परेको पर्यटन व्यवसाय अब उठ्ने अपेक्षा व्यवसायीको थियो । क्रिसमससँगै निकै पर्यटक बढ्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ । सौराहामा १२० होटेल क्षेत्रीय होटेल सङ्घमा आबद्ध रहेका छन् । सङ्घमा दर्ता नभएका अरू साना होटेल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता रहेको छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे अब पर्यटक बढ्ने अपेक्षा गर्नुहुन्छ । बिदामा पर्यटक धेरै आउने भन्दै उहाँले अब शुक्रवार नयाँ वर्ष मनाउन पर्यटक बढी आउने आकलन गरिएको जानकारी दिनुभयो । नेपालमा तत्काल बुकिङ गर्ने प्रचलन भएकाले आज बिहीबार देखी होटेलका बुकिङ एकाएक बढ्ने उहाँको भनाइ छ । 

यस वर्ष नयाँ वर्ष शनिवार परेकाले एक रात बस्ने धेरै हुने व्यवसायी बताउँछन् । घिमिरेको भनाइमा आजको बिदा पहिले जानकारी भएको भए बुधबारदेखि पर्यटक बढ्न सक्थे । सङ्घका महासचिव गुणराज थपलिया कोभिडका कारण पर्यटक नआएको अनुमान गर्नुहुन्छ । उहाँले भन्नुभयो, “नेकपा एमालेको महाधिवेशनपछि सौराहामा पर्यटक घट्दैन भन्ने हाम्रो अनुमान थियो ।” पछिल्लो समय ओमिक्रोेन देखा परेसँगै आन्तरिक पर्यटक डराएको थपलियाको भनाइ छ । अधिकांश पर्यटन व्यवसायी अब पर्यटक बढ्ने अपेक्षामा रहेको भए पनि त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ ।

रेष्टुरेण्ट एण्ड बार एसोशिएशन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडा ओमिक्रोन र बच्चाको परीक्षाका कारण पर्यटक नआएको अनुमान गर्नुहुन्छ । राप्ती बगरमा रेष्टुरेण्ट चलाउँदै आउनुभएका खतिवडालाई पर्यटक बढे÷नबढेको सहजै थाहा हुने गर्दछ । सौराहा आउने पर्यटक अधिकांश राप्ती किनार पुग्ने गर्दछन् । खतिवडाले भन्नुभयो, “यस्तो समयमा पनि पर्यटकको राम्रो चहलपहल छैन ।” यो समय पर्यटक आउने महत्वपूर्ण समय हो । अहिले आएका पर्यटक खर्च गर्ने खालका धेरै रहेको पाइएको छ । ठूला होटेल र पर्यटकीय गतिविधिमा सहभागिता बढेको छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी गत वर्ष जस्तो नभए पनि सन्तोषजनक रहेको बताउनुहुन्छ । समग्र पर्यटकको सङ्ख्या धेरै नभए पनि आएका पर्यटक हात्ती चढ्ने गरेको उहाँको भनाइ छ । होटेलमा गोष्ठी, कार्यक्रम, विवाहका बुकिङ राम्रो रहेको छ । होटेल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरीका अनुसार उहाँको होटेलमा जनवरीमा मात्र चार वटा विवाह बुकिङ रहेको छ ।

भारतको पटना नाका हुँदै आउने पर्यटक सङ्ख्या राम्रो भए पनि अन्य पर्यटकको सङ्ख्या सन्तोषजनक नरहेको उहाँले बताउनुभयो । होटेल सेभेनस्टरका सञ्चालक माधव दुवाडीले होटेलमा पछिल्ला दिनको बुकिङ सन्तोषजनक रहेको बताउनुभयो । नेकपा एमालेको महाधिवेशनपछि उहाँको होटलको बुकिङ राम्रो रहेको छ । सोही होटेलमा महाधिवेशनको बन्दसत्र भएको थियो । उहाँले भन्नुभयो, “महाधिवेशनपछि केही दिन बुकिङ राम्रो नभए पनि त्यसपछि निकै राम्रो छ ।”

सौराहाको राप्ती किनारमा नयाँ वर्षको अवसरमा शुक्रवार विशेष सांस्कृतिक कार्यक्रम गरिँदै छ । होटलहरूले आन्तरिकरूपमा विभिन्न कार्यक्रम गर्दै छन् । सौराहा सफारी पर्यटकका लागि नेपालको महत्वपूर्ण गन्तव्य हो । यहाँ आउने पर्यटक निकुञ्ज र सामुदाीयक वन घुम्न रुचाउँछन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button