योजना आयोगका उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग

बैतडी । सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुग्नुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेका छन् ।
बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाहरूले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडकहरू कालोपत्रेको माग राखेका छन् ।
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भन्नुभयो, ‘बैतडीका मुख्य सडकहरू मध्ये दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग कालोपत्रे भत्किएका ठाउँहरूमा टालो हाल्ने काम भइरहेको छ । तर फेरी भत्किँदै गएको छ । त्यसैले त्यसलाई दीर्घकालीन रूपमा स्थापित गर्न फेरी मजबुत योजना बनाउन जरुरी छ । यसतर्फ म आयोगको ध्यानाकर्षण गराउँछु ।’ यसैगरी जिल्लाका सबै स्थानीय तहहरूलाई जिल्ला सदरमुकाम सँग जोड्ने सडकहरू स्तरोन्नति गर्न जरुरी रहेकाले यस तर्फ आयोगको ध्यानाकर्षण गराए ।
जिल्लाको सुर्नया गाउँपालिका अध्यक्ष वीर बहादुर विष्टले हरेक स्थानीय तहमा बन्दै गरेका चक्रपथहरूका स्तरोन्नति गर्न का लागी योजना बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ग्रामीण विकासमा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । त्यसका लागी सडक पहिलो प्राथमिकता हो । प्रायः स्थानीय तहहरूले पालिकाको केन्द्र सम्म पुग्न चक्रपथ निर्माण गरिरहेका छन् । यी सडकहरूलाई स्तरोन्नति गर्न जरुरी भएकाले दीर्घकालीन योजना बनाउन आयोगको ध्यानाकर्षण गराउँछु ।’

कार्यक्रममा जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सबै सरकारी तथा विकासे कार्यालयका प्रमुखहरूको सहभागिता थियो । यातायात, बिद्युत्, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन लगायतका योजनाहरू निर्माणमा ध्यान दिन बैतडीका सरोकारवाला निकायका व्यक्तिहरूले माग गरेका छन् ।
आयोगका उपाध्यक्ष पौडेलले जनता र सरोकारवालासंगहरुको छलफल पछि विकासको खाका तयार गरिने भन्दै छलफलमा उठेका विषयहरूमा ध्यान केन्द्रित भएको बताउनुभयो । विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा उहाँको जोड थियो । सरकारले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने उहाँले बताउनुभयो ।
बाढी पहिरोले सरकारी संरचना भत्काएको तथा जनताको जीवन अस्तव्यस्त पारेको भन्दै पीडितको पुनर्स्थापनाको माग राखेका सरोकारवाला निकाय सँग उपाध्यक्ष पौडेलले यसका लागि योजना निर्माण हुने आश्वासन दिनुभयो ।
आयोगका उपाध्यक्ष पौडेलले कार्यालय प्रमुखहरू र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सँग गरी २ ओटा छुट्टाछुट्टै कार्यक्रम गर्नुभएको थियो । उहाँ बिहीबार दार्चुला प्रस्थान गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्