तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यमन्त्री खतिवडाद्वारा ल्होसारको शुभकामना

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २६०६ औँ तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मन्त्री खतिवडाले जारी गर्नुभएको विज्ञप्तिमा गुरुङ समुदायको नयाँ वर्ष ल्होसार पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीमा हार्दिकता, सहिष्णुता, सद्भाव र सम्मान कायम गर्ने विश्वास व्यक्त गरिएको छ । विविध रङका फूलको साझा फूलबारीका रूपमा रहेको मुलुकमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएकाले एक अर्काको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजप्रति उच्च सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशमा समुदाय तथा स्थान विशेषअनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन्, जुन हाम्रो गहना हो, यस्ता विविध खालका परम्परा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको कर्तव्य हो ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा केही वर्षयता भित्रिएको र महामारीका रूपमा विश्वलाई ज्यादै दुःख दिएको कोरोना अर्थात् कोभिड–१९ नियन्त्रणमा विभिन्न प्रयास गर्दै आएको उल्लेख गरिएको विज्ञप्तिमा रोगको प्रभाव पछिल्लो कालमा निक्कै कम पार्न सफल भएको जनाइएको छ ।

पछिल्लो पटक यसको तेस्रो लहरका रूपमा ओमिक्रोन भाइरसको उत्पत्तिले यसलाई नियन्त्रण गर्न सबैको साझा प्रयासको खाँचो औँल्याइएको विज्ञप्तिमा चाडपर्वमा भीड नगरी स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button