चितवनमा पर्यटकको आगमन आधा भन्दा कमी

चितवन । हरेक नयाँ अङ्ग्रेजी वर्षको पूर्व सन्ध्यामा चितवनका होटल भरिभराउ हुने गरेको भए पनि यस पटक भने पर्यटकको न्यून उपस्थिति रहेको छ । सौराहा तथा चितवनका अन्य पर्यटकीय गन्तव्यमा पनि पर्यटकको उपस्थिति पातलो छ ।
विगतका वर्षहरूमा थलिएको पर्यटनलाई सिजन शुरु भएसँगै उकासिने आशा गरे पनि पोहोरको तुलनामा आधा भन्दा कमी भएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकको आगमन कम हुनुमा अहिले देखिएको बैङ्किङ तरलता अभाव र ओमिक्रोन भाइरसको त्रासका कारण पर्यटक आगमनको कम हुन पुगेको उनीहरूको भनाई छ ।

क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष दीपक भट्टराई गत वर्षको तुलनामा यस अङ्ग्रेजी वर्षको पूर्व सन्ध्यामा आधा भन्दा कम पर्यटकको उपस्थिति रहेको बताउनुहुन्छ । ‘ पोहोरको जस्तै यस पटक पनि पर्यटक भरिभराउ हुने आशा गरेका थियौँ उहाँले भन्नुभयो , हालसम्म ४० प्रतिशत पनि रुम अकुपाई छैन । हामी अचम्मित भएका छौँ ।’ अहिले पर्यटकको सङ्ख्या कम भए पनि अङ्ग्रेजी नयाँ वर्षबाट भने पर्यटक आउनेमा आशावादी रहेको उहाँले बताउनुभयो ।
चितवनको पर्यटन बाह्य पर्यटक र जङ्गल सफारीमा आधारित पर्यटन हो । युरोप लगायत अन्य देशहरूमा ओमिक्रोन भाइरसको प्रभाव बढेको र अझै पनि सहज रूपमा पर्यटक नेपाल आउन नसकेकोले पर्यटकको सङ्ख्यामा कमी देखिएको हो ।

मुख्य कुरा केही महिनादेखि बैङ्कमा तरलताको अभाव कारण हरेक क्षेत्र सुस्त र आर्थिक गतिविधि कम भएका कारण पनि यसको असर पर्यटन क्षेत्रमा परेको हो ।
रेष्टुरेण्ट एण्ड बार एशोसियन (रेवान) सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडा हाल सौराहामा केही भारतीय र चाइनिज पर्यटक देखिए पनि आन्तरिक पर्यटकको आगमन नै अत्यन्त सुस्त भएको बताउनुहुन्छ । ‘पोहोर साल त पर्यटकको यति बेला ओइरो लाग्थ्यो उहाँले भन्नुभयो, अहिले त खोइ फ्याट्ट फुट्ट बाहेक पर्यटक नै छैन ।’
देशभर अधिवेशनको माहौल, पर्यटकहरू छरिनु , विद्यार्थीहरूको परीक्षा लगायतका कारण परिवार सँगै घुम्न आउने पर्यटक पनि’ कम भएको उहाँको भनाई छ ।

सौराहामा मात्रै होइन चितवनका अन्य पर्यटकीय गन्तव्यहरूमा पनि पर्यटकहरूको चहलपहल अत्यन्त न्यून छ । अङ्ग्रेजी नयाँ वर्षका लागि रुम बुकिङ हुन थाले पनि हाल भने रुम बुकिङको अवस्था दयनीय रहेको छ । चितवनको दोस्रो प्रमुख पर्यटकीय गन्तव्य मानिएको पटिहानीमा पनि पर्यटकको सङ्ख्या अत्यन्त न्यून छ । ‘अहिले अकुपाई कति छ भनेर भन्दा पनि भन्नै नहुने अवस्था छ । २० प्रतिशत पनि छैन । कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेल भन्नुहुन्छ , नयाँ वर्ष शुरु भएपछि भने केही रुम बुकिङ हुँदै गएका छन् ।’
लकडाउन र निषेधाज्ञा खुलेपछि हरेक आर्थिक गतिविधि चलायमान देखिए पनि सबै क्षेत्रमा त्यति धेरै उत्साह छैन । आर्थिक मन्दीकै साना देखि ठुला व्यवसाय, घरजग्गा कारोबार, अटो मोबाइल क्षेत्र तथा अन्य क्षेत्र पनि सुस्त नै देखिन्छ । ‘पर्यटन क्षेत्र सुस्त हुनुमा मुख्य कारण दुई वटा देखिन्छ, पर्यटनविद् डाक्टर विश्व सुबेदी भन्नुहुन्छ, एक तरलताको अभाव अर्को ओमिक्रोनको त्रास ।

अर्को कुरा मौसमले पनि साथ दिएको छैन ।’ चितवनमा हरेक क्षेत्रमा साना देखि स्तरीय होटलहरु र पर्यटकीय गन्तव्य सङ्ख्या बढी भएकोले पनि सौराहा लगायत अन्य प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको सङ्ख्या कम देखिएको डा सुवेदीले बताउनुभयो । ‘अहिले होटलहरुको सङ्ख्या पनि चितवनमा तीव्र रूपमा वृद्धि हुँदै गएको छ । होटलको अनुपातमा पर्यटकको सङ्ख्या कम भयो ।’ उहाँले भन्नुभयो, कोरोना कहरकै कारण पछिल्लो समय अधिकांश पर्यटकहरू शान्त ,कम भिडभाड र फरक फरक ठाउँमा घुम्न जाने बानीको विकास भएकोले पनि पर्यटकको आगमन कम देखिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्