एमाले राष्ट्रिय स्वाधीनता र रक्षाका लागि लडिरहेको पार्टी हो : उपमहासचिव गुरुङ

भैरहवा । नेकपा एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरुङले प्रेस चौतारी नेपाल नेपालकै अब्बल सङ्गठन भएको बताउनुभयो ।
प्रेस चौतारी नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रेस चौतारी नेपालका इन्चार्ज एवम् उप महासचिव गुरुङले नेकपा एमालेका २२ वटा जनसङ्गठन मध्ये अब्बल सङ्गठनको रुपमा प्रेस चौतारी नेपाललाई स्थापित गर्नुपर्ने बताउनुभयो ।
समृद्ध नेपाल निर्माणका लागि सबल, श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने मूल नाराका साथ लुम्बिनीमा आयोजना गरिएको प्रेस चौतारीको विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै उप महासचिव गुरुङले दक्षिणपन्थी र अवसरवादलाई पराजित नगरी पार्टी एकताबद्ध भएर अगाडि बढ्न सक्दैन भन्ने १०औँ महाधिवेशनको म्यान्डेट भएको बताउनुभयो ।

उहाँले पार्टीले गरेका सकारात्मक काम जनतामा लैजाने काम प्रेस चौतारी भएको हुँदा प्रेस चौतारी सबल र अब्बल भएको सङ्गठन उहाँको भनाई छ ।
पार्टी जीवन्त भएर अगाडि बढ्नका लागि देशको हित गर्नुपर्ने बताउनुहुँदै उहाँले एमाले राष्ट्रिय स्वाधीनता र रक्षाका लागि लडिरहेको पार्टी भएको बताउनुभयो ।
उहाँले एमाले बालबालिकादेखि वृद्धहरूको रक्षाका लागि लागिपरेर जनमुखी काम गर्ने एक मात्र पार्टी भएको बताउनुभयो ।
एमाले परिवर्तनलाई संस्थागत गरी उत्पादनमा अघि बढेको पार्टी भएको हुँदा समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा अघि बढेको उहाँको तर्क थियो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् जनसङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टीको १०औँ महाधिवेशनले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन दिएको बताउनुभयो ।
“वैशाखदेखि मङ्सिरसम्म तीन तहकै निर्वाचन हुनेछन् । नेकपा एमालेलाई एक्लै बहुमत पुर्याउन एमाले लागेको छ”, उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष पार्टी प्रवेश कार्यक्रममा हिँडिरहनुभएको छ । महाधिवेशनपछि हामी वडा र नगर अधिवेशन एकै पटक गर्न सफल भयौँ ।”
उहाँले एमालेले महाधिवेशन नगरेको भए अरू पार्टीले पनि कोरोनाको बहाना बनाएर गर्ने थिएनन् भन्नुहुँदै एमालेले महाधिवेशन गरेका कारण अरूले पनि लतारिएर महाधिवेशन गरेको बताउनुभयो ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले हिजोको हार जित एउटा खण्ड थियो अब योजनाका साथ अगाडि बन्न प्रेस चौतारीलाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले लुम्बिनीबाट प्रेस चौतारीको बैठकले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
नेकपा एमालेका प्रचार विभाग उप प्रमुख विष्णु रिजालले प्रेस चौतारीले पार्टीका गतिविधिहरूलाई सकारात्मक प्रवाह गर्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बैठकका मोडालिटि नयाँ ढङ्गका भएको बताउनुभयो । उहाँले पार्टीको १०औँ महाधिवेशनको निर्देशन बमोजिम प्रेस चौतारीको बैठक बसेको बस्नेतले बताउनुभयो ।
पार्टीका २२ वटा जनसङ्गठनभन्दा सबै कुरामा प्रेस चौतारी नेपाल अब्बल हुनुपर्छ भन्ने इन्चार्जको भनाइलाई पालना गरेर अघि बढ्ने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्