तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक चिसोले जनजीवन कष्टकर

जुम्ला । मौसममा बदली भई चिसो बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । 

आइतबारदेखि भएको मौसम बदलीका कारण कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पामा हिमपात भएको छ भने जुम्ला, मुगुको उच्च भूभागमा हिमपात भएको छ । हिमपातसँगै मौसम चिसिएपछि जनजीवन प्रभावित भएको छ । 

हिमपातसँगै हुम्लाको न्यूनतम तापक्रम माइनस ११ डिग्री पुगेको छ । हुम्लामा ३ फिट हिउँ जमेपछि सर्वसाधारणलाई ओहोरदोहोर गर्न र दैनिक उपभोग्य सामान किन्न पनि मुस्किल भएको हुम्लाका सञ्चारकर्मी दाने बोहोरा बताउनुहुन्छ । 

जुम्लाको तापक्रम माइनस ७ डिग्री छ । हिमपात वर्षाले कृषिमा फाइदा गरे पनि जनजीवन भने कष्टकर भएको छ । चिसो बढेपछि बजारका चोक चोकमा आगो ताप्ने गरेको देखिन्छ । 

चिसोले दमका बिरामी, वृद्ध वृद्धा, बालबालिकालाई प्रत्यक्ष असर पर्ने भएकोले सुरक्षित रहन चिकित्सकहरूले सुझाव दिएका छन् । 

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले हिउँदे बालीको उत्पादन वृद्धिका लागि हिमपात अनिवार्य रहेको बताउनुभयो ।  
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जुम्ला सदरमुकामको एयरपोर्ट, कालिकोखोली चोक, बाल मन्दिर, बसपार्क, भारतीबाडा, जिप्रका अघि लगायतका स्थानमा आम सर्वसाधारणका लागि आगो बालिने बताउनुभयो ।  

यसका साथै सडक मानव, गरिब, विपन्नहरूको राहतका लागि न्यानो कम्बल वितरण कार्यक्रम पनि सुरु गरिने उहाँले उल्लेख गर्नुभयो । 

चिसो बढ्दै गएकोले स्थानीयलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि प्रजिअ प्रसाईँले आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button