धुलियाविट–भेडावारी सडक खण्ड : ट्र्याक खुलेको साढे ४ दशकपछि कालोपत्रे

सुर्खेत । वर्षातमा हिलाम्य र सुख्खामा धुलाम्य ग्रामीण सडकको मुख्य समस्या हो ।
जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका अधिकांश ग्रामीण सडकको स्तरोन्नति समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ ।
तर, पछिल्लो समय मदन भण्डारी राजमार्गले छोएपछि धुलियाविट–भेडावारी सडकको दिन फेरिएका छन् । ट्र्याक खुलेको करिब साढे चार दशकपछि कालोपत्रेको काम सुरु गर्न लागिएको हो ।

तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि उहाँलाई देखाउनकै लागि २०३२ सालमा यो सडकको ट्र्याक खोलिएको थियो । त्यसयता यो सडकको स्तरोन्नति र कालोपत्रेका लागि लामो पर्खाइमा बस्नुपरे पनि हाल मदन भण्डारी राजमार्गले छोएपछि अहिले कालोपत्रे गर्ने काम सुरु गर्न लागिएको हो ।
जिल्लाकै पुरानो सडक मध्येको एक धुलियाविट–भेडावारी सडकको कालोपत्रेको ठेक्का कालिका (केएस) वेदान्सी जेभीले पाएको छ ।
राजमार्ग आयोजना निर्देशनालयले गत वैशाखमा एक अर्ब ५१ करोड रुपैयाँमा सडक स्तरोन्नति र कालोपत्रेका लागि बोलपत्र आव्हान गरेको थियो । कम्पनीले घटेर एक अर्ब तीन करोड रुपैयाँमा सम्झौता गरेको छ ।

उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाविट–भेडाबारी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अब भेडाबारी सडक खण्ड नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने भएको छ । स्तरोन्नति गर्दा झन्डै ५२ प्रतिशत सडक चौडा बनाइने छ ।
डीपीआर अनुसार बोटेचौरदेखि धुलियाबिटसम्म ३५ किलोमिटरभन्दा बढी स्तरोन्नति हुनेछ । यसअघि सडक ३५ किलोमिटर लामो (धुलियाबिट–भेडाबारीखण्ड) करिब ४ मिटर मात्रै चौडाइ थियो । यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिकाका–११ र १३, लेकबेँसी नगरपालिकाका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, ११, १२, १३ र १४ का स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
विकासको गुणस्तरीय पूर्वाधार उपलब्ध गराउन जनप्रतिनिधिसँग नागरिकले अपेक्षा गरे अनुरूप आफ्नो पहलमा कालोपत्रेको कामलाई तीव्रता दिइएको सुर्खेत प्रतिनिधिसभा क्षेत्र नम्बर १, का सांसद ध्रुवकुमार शाहीले बताउनुभयो ।

उहाँले धुलियाबिट–भेडाबारी सडक खण्डलाई कालोपत्रे बनाउने नागरिकसँगको आफ्नो चुनावी बाचा पुरा गरेको जिकिर गर्नुभयो ।
“भेडाबारी सडक खण्ड पूर्व पूर्वी सुर्खेतका नागरिकको लाइफलाइन हो,” उहाँले भन्नुभयो, “चुनावमा सडक पक्की बनाउन नागरिकसँग गरेको बाचा पुरा गरेको छु ।” लेकबेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले धुलियाविट–भेडावारी सडकको स्तरोन्नतिले नगरको समृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रिय राजमार्ग अनुरूपको गुणस्तरीय सडक बनाउनतर्फ अहिले जनप्रतिनिधिसँगै आम नागरिकको समेत खबरदारी आवश्यक रहेको औँल्याउनुभयो ।
यसअघि, धुलियाबिट–भेडाबारी–काल्चे–सल्यानको कालीमाटी, दाङ तुलसीपुर हुँदै महेन्द्र राजमार्गको लमही जोड्ने द्रुत मार्गका रुपमा समेत रेखाङ्कन गरिएको थियो ।
अब सडक कालोपत्रे गर्ने काम सकिएपछि पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउने छन् । सुर्खेतबाट काठमाडौँ जानलाई समेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्