मेचीनगर र नगर विकास कोषबीच ऋण सम्झौता

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिकामा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गराउने उद्देश्यका साथ मेचीनगर नगरपालिकाको वडा १० मा करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुने मेचीनगर कृषि मण्डी आयोजनाका लागि सम्झौता भएको छ ।
मेचीनगर नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको नगर प्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यबीच रु.९ करोड ६५ लाख २३ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती र वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीको उपस्थितिमा आइतबार सम्झौता भएको हो ।
मेचीनगर कृषि मण्डी आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. १२ करोड ८६ लाख ९८ हजारको ७५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र २५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ बताइएको छ ।
उक्त सम्झौता कार्यक्रममा नगरप्रमुख आचार्यले बृहत् नमुना कृषि पूर्वाधार आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय र समयमा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले नगरपालिकामा निर्माण हुने आयोजनाबाट मेचीनगर नगरपालिका एक व्यवस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रुपमा सबल हुने र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्