तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व लक्ष्यभन्दा २० प्रतिशतले घट्यो

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व लक्ष्यभन्दा झण्डै १९ दशमलव १७ प्रतिशतले घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७८/०७९को  मङ्सिर महिनामा ३६ करोड ९६ लाख ७१ हजार रुपैंया कम राजश्व असुली भएको हो । मङ्सिर महिनामा विभागले १ अर्ब ९२ करोड ७९ लाख ६१ हजार लक्ष्य दिएकोमा १ अर्ब ५५ करोड ८२ लाख ९० हजार मात्र असुली गरेको छ । 

चालु आ.व.को मङ्सिर महिनामा कुनै पनि शीर्षकमा कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयका अनुसार आयकर शीर्षकमा ३८ करोड २७ लाख ८ हजार लक्ष्य दिएकोमा १७ करोड २३ लाख १७ हजार रुपैंया असुली गरेको छ । यसैगरी बहाल कर शीर्षकमा २८ लाख ६८ हजार लक्ष्य दिइएकोमा २६ लाख ६८ हजार असुली, व्याजकरमा १ करोड ३लाख १० हजार लक्ष्य दिएकोमा ५५ लाख ८७ हजार, मुल्यअभिवृद्धि कर शीर्षकमा १५ करोड ५४ लाख ८ हजार लक्ष्य दिएकोमा १३ करोड ५९ लाख १८ हजार र अन्तःशुल्क शीर्षकमा १ अर्ब ७० करोड ५ लाख २८ हजार लक्ष्य दिएकोमा १ अर्ब ४१ करोड ८ रुपैयाँ मात्र राजश्व असुली भएको छ । 

कार्यालयले स्वास्थ्य सेवा कर र शिक्षा सेवा शुल्कमा भने कुनै पनि राजश्व असुल गर्न सकेको छैन । जस अनुसार स्वास्थ्य सेवा करमा मङ्सिर महिनामा ४ लाख ८२ हजार र शिक्षा सेवा शुल्कमा २ लाख ४८ हजार रुपैंया राजश्व असुली गरेको छ । 

कार्यालयका कर अधिकृत सुशील लम्सालले मङ्सिर महिनामा अन्तःशुल्क लगायत अन्य शीर्षकमा समेत को कारोबारमा कमी आउने हुनाले लक्ष्य भन्दा कम राजश्व असुली हुने बताउनुभयो । ‘हाम्रो मुख्य राजश्व असुलीको श्रोत नै अन्तःशुल्क हो, उहाँले भन्नुभयो, अन्य शीर्षकमा पनि यो महिना कम असुली हुने समय हो ।’ 

उहाँका अनुसार अन्तःशुल्क मा डिस्टिलरी मा कारोबार भएपनि ब्रुअरी, कोल्ड ड्रिंक्सको उत्पादनको कारोबार कम हुँदा समग्र लक्ष्यमा असर परेको हो । ‘आयकर शीर्षकमा पनि यो आम्दानी  आउने महिना होइन, पुस चैत ,असोज महिनामा भने बढ्छ ।’ उहाँले भन्नुभयो  । चाडबाडको समय जानु र जाडो समय शुरु भएको हुनाले पनि सोही अनुसार अन्तःशुल्क सँगै अन्य शीर्षकहरूमा समेत कम राजश्व असुली भएको उहाँको भनाई छ । 

विभागले चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको अवधिमा ७ अर्ब १३ करोड ७६ लाख ८३ हजार लक्ष्य दिएकोमा ८ अर्ब  ५ करोड ४८ लाख ९४ हजार रुपैंया राजश्व असुली गरेको छ । यो वर्ष विभागले यहाँको कार्यालयलाई २१ अर्ब ७२ करोड २६ लाख ७९ हजार लक्ष्य दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button