मझगाउँ विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन

कञ्चनपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कञ्चनपुर जिल्लामा रहेको मझगाउँ विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग आज भएको छलफलमा पर्यटन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माणका लागि ४७ करोड बजेट छुट्टाएको बताउनुभएको हो ।
संघका अध्यक्ष जङ्गबहादुर मल्ल नेतृत्वको टोलीले विमानस्थल निर्माण प्रक्रियाबारे मन्त्री आलेको धारणा बुझेको थियो ।
उक्त टोलीमा पूर्व मन्त्री रमेश लेखक, कांग्रेस कञ्चनपुरका पूर्व सभापति हरिप्रसाद बोहोरा लगायतका नेताहरूको सहभागिता रहेको अध्यक्ष मल्लले जानकारी गराउनुभएको छ ।
विमानस्थल निर्माणका लागि कान्छाराम–केएस–उमा एन्ड कम्पनी जेभील निर्माणको ठेक्का पाएको छ ।
गत वर्ष फागुनमा विमानस्थल निर्माणका लागि ठेक्का स्वीकृत भए पनि हालसम्म सम्झौता हुन भने सकेको थिएन ।
मन्त्री आलेले विमानस्थल निमार्णका लागि बजेट विनियोजन भएको बताउँदै अब चाँडै सम्झौता गरी निर्माण कार्य अगाडि बढाउने बताउनुभएको संघका अध्यक्ष मल्ले जानकारी दिनुभयो ।

विमानस्थलको रनवे र पार्किङ एरिया लगायतको निर्माणका लागि ठेक्का भएको हो ।
विमानस्थल निर्माणमा लागि तीन वर्ष लाग्नेछ । विमानस्थलको १५.२५ मिटर लम्बाइ र ३० मिटर चौडाइको रनवे निर्माण गरिनेछ ।
६२ बिघा क्षेत्रफल रहेको विमानस्थलको दक्षिणतर्फ रहेको रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको ब्यारेक अन्यत्र सारेर यसको लम्बाइ १६ सय मिटर पुग्ने मन्त्रालयले जनाएको छ ।
२०६५ सालमा मझगाउँ विमानस्थल बन्द भएको थियो । विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुने गर्दथ्यो ।
उक्त समयमा सातामा एक पटक काठमाडौँ पनि उडान हुने गरेको स्थानीय बताउँछन् । सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्