व्यवसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं. ८ धारीका कृषकहरू व्यवसायिक तरकारी खेतीबाट आत्मनिर्भर हुँदै गएका छन् ।
खाद्यान्न बालीको सट्टा तरकारी खेतीबाट सजिलै नगद हात लाग्ने भएपछि धारीका ३२ घर परिवारले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन् ।
आफूले ३० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरी वार्षिक खर्च कटाएर ५ देखी ७ लाख कमाउने गरेको अगुवा कृषक प्रजापति महरा बताउनुहुन्छ ।
खाद्यान्न बालीको सट्टा तरकारी खेती गर्दा लामो समय पर्खनु नपर्ने र बजार पनि खोज्नु नपर्ने हुँदा कृषकहरूमा तरकारी खेती प्रतिको आकर्षण बढेको स्थानीय तिलकसिंह महरा बताउनुहुन्छ ।
खोड्पे बजारको छेउमै रहेको धारी गाँउमा उत्पादित तरकारीका सजिलै बिक्री हुने हुँदा स्थानीय बासिन्दाले तरकारी बिक्रीबाटै सवारीका साधनहरू खरिद गरेको पनि उहाँले बताउनुभयो ।
उहाँ जस्ता दुई दर्जनभन्दा बढी यहाँका किसानहरूले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक रुपमा ४ देखि ५ लाखसम्म आर्जन गर्ने गरेको पाटन नगरपालिका कृषि शाखाले जनाएको छ ।
नगरपालिका भित्रका उत्कृष्ट कृषकहरूको छनौट गरी हाते ट्याक्टर, पोलिहाउस, बिउ बिजन र मल खाद लगायतका सामग्री अनुदान दिने नीति रहेको पाटन नगर पालिका कृषि शाखा प्रमुख महेश अवस्थी बताउनुहुन्छ ।
बैतडी जिल्लाको कुल खेतीयोग्य जमिन २५ हजार ७ सय हेक्टर मध्ये ६ हजार ४ सय ५० हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्