तपाईँ सुन्दै हुनुहुन्छः

चितवनबाट बिहीबारदेखि ‘पेपर कार्ड’ चालक अनुमति पत्र नवीकरण सुरु हुँदै

चितवन । यसअघि स्मार्ट कार्ड सवारी चालक अनुमति नवीकरण गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय चितवनले भोलि (बिहीबार)बाट पेपर कार्ड चालक अनुमति पत्र नवीकरण सेवा सुरु गर्ने भएको छ । 

कार्यालयले आज पत्रकार भेटघाटको आयोजना गरी यसबारेमा जानकारी दिएको हो । 

सो अवसरमा बोल्दै कार्यालय प्रमुख विनोद पौडेलले स्मार्ट कार्ड लाइसेन्स नवीकरण प्रभावकारी भएको भन्दै भोलि (बिहीबार)बाट पेपर कार्ड लाइसेन्स नवीकरण सेवा सुरु गरिन लागेको जानकारी दिनुभयो  । 

कार्यालयले करिब एक महिनाको अवधिमा दुई सय वटा स्मार्ट कार्ड नवीकरण भइसकेको छ । उहाँका अनुसार सेवाग्राहीले अनलाइन सेवामार्फत इ–टोकन प्रणाली अनुसार सेवाको समय निश्चित गर्न सक्नेछन् । सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यसहित र बढी भिडभाड नहोस् भन्ने हेतुले अनलाइनमार्फत सम्पूर्ण सेवा सुरु गरिएको बताउनुभयो  । 

यस कार्यालयमा नवीकरण गर्ने सेवाग्राहीको लाइसेन्स सम्बन्धित प्रदेशको या स्थायी बसोबास बाग्मती प्रदेश या सम्बन्धित जिल्लाको हुनुपर्ने उहाँको भनाई छ । 


यसका लागि इ–टोकन लिइसकेपछि इ-टोकन नम्बरको क्युआर कोड, सक्कल र फोटोकपी सहितको चालक अनुमति पत्र, सक्कल नागरिकता र प्रतिलिपि नागरिकता चाहिनेछ । 

नागरिकताको ठेगाना र चालक अनुमति पत्र बागमती प्रदेशबाट जारी नभएमा बसाइसराइको प्रमाणपत्रको साथ नवीकरण गर्न सकिने पौडेलले बताउनुभयो  ।  सरकारी कर्मचारीको हकमा कार्यरत कार्यालयको सिफारिससहित नवीकरण गर्न सकिनेछ । 

प्रदेशको चालक अनुमति पत्रबाट सङ्कलित राजश्व सम्बन्धित प्रदेशमै सङ्कलित होस भन्ने हेतुले सङ्घीय सरकारको यातायात व्यवस्था विभागको कार्यविधि अनुसार नवीकरण गरिने उहाँले बताउनुभयो  । 

यस प्रविधिबाट सेवाग्राहीलाई झन्झट कम हुनुका साथै नक्कली अनुमति पत्र लाई निरुत्साहित हुने उहाँको भनाई छ । 

कार्यालयमा हाल नयाँ सवारी चालक अनुमति पत्र बाहेकका सम्पूर्ण काम हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button