काँग्रेस १४औँ महाधिवेशन : ३ हजार ५ सय ८ मत खस्यो

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ३ हजार ५ सय ८ मत खसेको छ । काँग्रेसको १२ बजेदेखि सुरु भएको मतदानमा अहिले साँझ ७ः४५ बजेसम्म ३ हजार ५ सय ८ मत खसेको हो ।
एक सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार १०० र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा दुई हजार ४०८ मत खसेको हो ।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रियसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । काँग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।
काँग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्