सल्यानमा मानव अधिकार उलङ्घनका घटना बढ्दै
सल्यान । सल्यानमा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेक सल्यानद्वारा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरूको वार्षिक समीक्षा प्रस्तुत कार्यक्रममा जिल्लामा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएको पाइएको हो ।
११ महिनाको अवधिमा सल्यानमा ५६ वटा मानव अधिकारसँग जोडिएका घटनाहरू अभिलेखीकरण भएको इन्सेक सल्यान प्रतिनिधि मिना बुढाथोकीले बताउनुभयो । जसमा घरेलु हिंसा, बलात्कार, बलात्कारकारका प्रयास, कुटपिट, बहु विवाह, बोक्सी आरोप, ज्यादती लगायतका घटना रहेका छन् ।
सबैभन्दा बढी बालिका बलात्कारका १९, बहुविवाहका ८, घरेलु हिंसाका ५, बोक्सी आरोप १, बलात्कार ५, बलात्कार प्रयासका १, कुटपिटका २, कुटपिट तथा घर निकाला४, बालविवाह १, बालिका बेचबिखनका १, यौन दुर्व्यवहार २, हत्याका ६ ओटा र कारागारमा मृत्यु १ ओटा गरी जम्मा ५६ ओटा घटना अभिलेखीकरण गरिएको छ ।
मानव अधिकार उलङ्घनका घटनामा ११ देखि १८ वर्ष उमेर समूहका ३२ प्रतिशत, १९ देखि ४० वर्ष उमेर समूहका ४५ प्रतिशत, १० वर्ष देखि तल उमेर समूहमा ७ प्रतिशत, ४१ देखि ५९ वर्षका ७ प्रतिशत र ६० देखि माथि ९ प्रतिशत पीडित भएको पाइएको बुढाथोकीको भनाई छ । जिल्लामा मानव अधिकार उलङ्घनका घटना बढ्दै गएकाले यस्ता घटनामा कमी ल्याउन राजनीतिक दल तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाइले एकल प्रयासले यस्ता अभियानहरू सफल हुन नसक्ने भएकाले सबै निकाय यस तर्फ लाग्नु पर्ने बताइन । कसैले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुने काम नगर्न र मानव अधिकार संरक्षणमा सबै लागि पर्नुपर्ने बताउनभयो ।








प्रतिक्रिया राख्नुहोस्