तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा ६ करोड २२ लाख लागतमा निर्मित अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्बर १६ नगवास्थित फोहरमैला प्रशोधन केन्द्र परिसर भित्र छुटै निर्माण गरिएको अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रको आज एक कार्यक्रमका बीच नगर प्रमुख विजय सरावगीले उद्घाटन गर्नुभएको छ । 

महानगरपालिकाले ६ करोड २२ लाखको लागतमा निर्माण गरेको केन्द्रमा अस्पतालजन्य फोहोर व्यवस्थापन गरिने भएको छ ।

वीरगंजमा झण्डै डेढ दर्जन भन्दा बढी अस्पताल रहेको र ती अस्पतालहरूबाट निस्कने फोहोर अत्यन्त संवेदनशील भएको हुँदा त्यसको व्यवस्थापन समुचित ढङ्गले गर्नुपर्ने नगर प्रमुख सरावगीले बताउनुभयो । 

अस्पतालजन्य फोहोरको कारण विभिन्न रोगको सङ्क्रमण फैलिन सक्ने खतरा रहेको हुँदा त्यसलाई अत्याधुनिक मेसिनद्वारा व्यवस्थापन गर्न केन्द्रको निर्माण गरिएको सरावगीले बताउनुभयो । 

सो कार्यक्रममा नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर वीरेन्द्र बहादुर प्रधानले वीरगंजमा अस्पतालजन्य फोहोर विसर्जनका लागि  पहिलो पटक नमुना काम भएकोमा खुशी व्यक्त गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button