सुख्खा बन्दरगाहमा ढुवानीका लागि भारतीय निजी रेल सेवाको प्रतिस्पर्धा
वीरगन्ज । नेपाल–भारत रेल सेवा सम्झौतामार्फत नेपालका लागि कन्टेनर कार्गो ढुवानीमा निजी रेल सेवा प्रदायकलाई प्रवेशको बाटो खुलेपछि बीरगंज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा सामान ढुवानीमा भारतीय निजी रेल सेवाको प्रतिस्पर्धा बढेको छ ।
विगत २ महिना यता भारतीय ३ वटा निजी रेल सेवा कम्पनीले भारतीय बन्दरगाहबाट नेपालका लागि ढुवानी सेवा सुरु गरेका छन् ।
यसअघि भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार रहेकोमा अहिले तीन ओटा कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ढुवानी सेवा दिएपछि सामानको ओसार पोसारमा सहज भएको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले बताउनुभयो ।
सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीमा मुख्य साझेदार प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि भारतको कोलकाता र विशाखापत्तनम्बाट ढुवानी थालेको छ ।
यो कम्पनी वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का लिएको प्रिस्टाइन भ्याली ड्राइपोर्ट पोर्ट प्रालिको मुख्य साझेदार हो ।
विशाखापत्तनम् बन्दरगाहबाट कन्टेनर लिएर शनिवार प्रिस्टाइनको रेल वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको प्रिस्टाइनका व्यापार तथा बजार व्यवस्थापक महम्मद नबिल अख्तरले बताउनुभयो ।
यो कम्पनीले भारतकै कोलकाता बन्दरगाहबाट पनि वीरगन्जका लागि सेवा सुरु गरिसकेको छ । केही दिनअघि कोलकाता बन्दरगाहबाट औद्योगिक कच्चा पदार्थ, प्लास्टिक, विद्युतीय समान, तयारी कपडासहितका सामानका ९० कन्टेनरको र्याक वीरगञ्ज भित्र्याएको अख्तरले जानकारी दिनुभयो ।
२ महिनाअघि नै सेवा सञ्चालन गरेको हिन्द टर्मिनलले अहिलेसम्म सुक्खा बन्दरगाहमा आठ ओटा र्याक ल्याइसकेको छ । भारतमा बन्दरगाह र रेल सेवामा सक्रिय जेएन बक्सी समूहले पनि ढुवानीको तयारी थालेको छ ।
रेल सेवामा निजी क्षेत्रको प्रवेश सँगै वीरगन्ज लगायत नेपालका उद्योगी व्यवसायी लाभान्वित हुने भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्