तानसेनमा एक वडा एक किलोमिटर पक्की सडक अभियान

पाल्पा । तानसेन नगरपालिकाको एक वडा एक किलोमिटर पक्की सडक अभियान कार्यक्रम अन्तर्गत ग्रामीण भेगका वडामा सडक कालोपत्रेको काम भइरहेको छ ।
सहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्याउने उद्देश्यसहित नगरपालिकाले ग्रामीण क्षेत्रका सडकहरूमा कालोपत्रे गर्ने कार्य सुरु गरेको हो ।
नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडाहरूमा कच्ची सडक निर्माणसँगै बाह्रै महिना सहज रुपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्रे गर्ने काम गरेको छ ।
तानसेन नगरपालिकाले गत वर्षदेखि एक वडा एक किलोमिटर पक्की सडक अभियान सुरु गरेको थियो ।
तानसेन नगरपालिकाका ग्रामीण क्षेत्र अन्तर्गत वडा– ५ सेती पोखरी धरमपानी सम्मोबारी, बराङ्दी, वडा– ६ बर्तुङ क्षेत्र, वडा–७ काजिपौवा, प्रभास, वडा– ८ मदन पोखरा, वडा– ९ दमकडा, वडा – १० तेल्घा, वडा– ११ बन्दिपोखरा, वडा –१२ पोखराथोक, वडा –१३ बौघागुम्वा, छेर्लुङ र वडा– १४ अर्गली क्षेत्रका बासिन्दा यो अभियानबाट बढी लाभान्वित हुने छन् ।
तानसेनको वडा–१ मिसन, गैरागाउ वडा –२ मेहलधारा, अशनटोल र बडिज्ञान टोल, वडा– ३ टक्सार, बसन्तपुर र भगवतीटोल, वडा– ४ सिल्खान क्षेत्र बजारको मुख्य क्षेत्रभित्र पर्दछन् ।
नगरभित्रका ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई शहरी सुविधा प्रदान गर्न, विकासको समान पहुँच पुर्याउन, ग्रामीण भेगका कृषि, पशु उत्पादनहरु शहरसम्म पुर्याउन, पर्यटकहरुलाई गाउँ गाउँका होमस्टेमा पुर्याउन, ग्रामीण भेगको आय आर्जन बढाउने अयिानाका साथ एक वडा एक किलोमिटर पक्की सडक अभियान सुरु गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।
चालु आर्थिक बर्षमा तानसेन नगरपालिकाले १४ वडामा एक किलोमिटरका दरले १४ किलोमिटर सडक कालोपत्रेको सुरु गरेको छ ।
यो अभियानबाट कम्तीमा ७ बर्षभित्र तानसेन नगरका १४ वटै वडाका प्रमुख सडकहरु कालोपत्रे भईसक्ने नगर प्रमुख शाहीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्