तनहुँ महोत्सवको आठौँ संस्करण हुने

तनहुँ । तनहुँको महोत्सवका आठौँ संस्करण आगामी पुस २९ बाट दमौलीमा हुने भएको छ ।
दमौलीमा पत्रकार सम्मेलन गरेर तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले महोत्सवका बारेमा जानकारी दिनुभयो ।
“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने नारा साथ हुने महोत्सवमा आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने उद्देश्य राखेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कोरोना महामारीका कारण हुन नसकेको मेला तथा महोत्सव यस वर्षदेखि हुने लागेको बताउँदै आठौँ संस्करणको महोत्सव अवधिमा ५ लाख दर्शक भित्राउने लक्ष्य रहेको जनाएको छ ।
संघका महासचिव सुबोध अधिकारीले महोत्सवमा स्वदेशी तथा विदेशी नागरिकलाई समेत महोत्सव अवलोकन गराउने बताउनुभयो ।
दमौलीस्थित बिपी वनबाटिकामा हुने महोत्सवमा ६ करोडको कारोबार गर्ने अपेक्षा सहित कुल आम्दानी ८० लाख र खुद आम्दानी १५ लाख ३५ हजार हुने अनुमान गरेको अधिकारीले जानकारी दिनुभयो ।
तनहुँ उद्योग वाणिज्य सङ्घ, जिल्ला समन्वय समिति तनहुँ, ब्यास नगरपालिका आयोजक तथा दमौली बजार इकाई सहआयोजक रहने गरी गरिने महोत्सवमा संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ निर्देशकको रुपमा रहने बताइएको छ ।
महोत्सवको अध्यक्षता संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले गर्नुहुनेछ भने सचिवालय संयोजकमा महासचिव सुबोध अधिकारी तथा आर्थिक संयोजकमा कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ रहनुहुनेछ ।
पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, द्धितिय उपाध्यक्ष कुमार मल्ल, दमौली बजार इकाईका सभापति भूपाल आले, नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेल ,महिला उद्यमी विकास समिति तनहुँकी अध्यक्ष शकुन्तला आले लगायत सहभागी भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्