तपाईँ सुन्दै हुनुहुन्छः

३ घारबाट शुरु गरेको मौरीपालन अहिले ७२ घार

स्याङ्जा । भीरकोट नगरपालिका ७ तिलहारका पर्वत खाम्चाको घर वरिपरिको बारीमा सेताम्मे मौरीका घारहरू छन् । विगत ३ वर्षदेखि मौरी पालनमा आकर्षित हुनुभएका खाम्चाको बारीभरि मौरीका घारहरू छन् । ३ मौरी घारबाट व्यावसायिक मौरी पालनमा लाग्नुभएको खाम्चासंग अहिले ७२ मौरी घारहरू छन् । ३१ वर्षीय खाम्चाले भन्नुभयो,‘शुरुमा मसँग ३ घार थिए, अहिले ७२ घारहरू छन् । अब छिट्टै २०० घार पुर्‍याउने मेरो लक्ष्य छ ।’ मौरी पालनलाई नै आफ्नो जीवनको लक्ष्य बनाउनुभएको खाम्चाले गत वर्षदेखि आरोहण बि एण्ड एग्रीकल्चर फार्म दर्ता गरी थप व्यावसायिक रूपमा अगाडि बढ्नुभएको हो । 

मौरीसँगै रमाउनुभएका खाम्चाको पृष्ठभूमि धेरै फरक छ । उहाँ सानै उमेरमा उहाँ द्धन्द्धकालमा पूर्व लडाकु हुनुहुन्थ्यो । खाम्चाले भन्नुभयो, ‘१५ वर्षको उमेरमा पार्टीमा लागियो, १० वर्षे जनयुद्धमा पनि लडियो, माओवादी शान्ति प्रक्रियामा आएसँगै मैले स्वैच्छिक अवकाश रोजेँ, त्यसपछि म सामान्य जीवनमा फर्किएँ ।’ स्वैच्छिक अवकाश पनि समाजमा घुलमिल हुन अलि असहज भएको स्मरण गर्दै खाम्चाले अहिले पनि सरकारी कार्यालयहरूमा जाँदा पूर्व लडाकु भनेपछि अलि फरक दृष्टिले हेर्ने गरेको उहाँले बताउनुहुन्छ ।

जनयुद्धपछि देशमा आएको परिवर्तनले नै खाम्चालाई खुसी बनाउँछ । सेरेना जातको मौरी पालन गरिरहनुभएको खाम्चालाई अहिले माग धानिसक्नु छैन । गोल विस्तारमै लाग्नुभएका खाम्चाले यो सिजनमै ६० किलो मह बिक्री गर्नुभएको छ । १२०० प्रतिकिलोका दरले अहिले मह बिक्री भइरहेको छ । उहाँले स्थानीय बजारसँगै पोखरामा मह बिक्री गर्दै आउनुभएको छ । खाम्चाले भन्नुभयो, ‘बजारीकरणलाई समस्या छैन । माग धान्नै गाह्रो छ । अलि लेकको मह भने पछि धेरैले माग गर्नुहुन्छ । लेकमा जडीबुटी खाएको मौरीको मह खाँदा स्वास्थ्यवर्द्धक हुने भएपछि माग अनुसार पुर्‍याउन सकेको छैन ।’ 

व्यापार समेत गर्नुभएको खाम्चालाई गाउँका अन्य दाजुभाइले मौरी पालन गरेको देख्दा यसतर्फ लाग्न प्रेरित गरेको हो । गत वर्ष कृषि ज्ञान केन्द्रले ब्लक कार्यक्रम अन्तर्गत २० मौरी घार अनुदानमा दिएपछि उहाँलाई मौरी पालनमा लाग्न थप हौसला मिलेको हो । साढे ५ लाख लगानी भइसकेको भन्दै उहाँले भन्नुभयो, ‘मैले हाल घार विस्तारमै ध्यान केन्द्रित गरेको छ । ठुलो सङ्ख्यामा घार बनाए भने व्यावसायिक रूपमा अगाडि बढ्न थप मद्दत पुग्नेछ ।’

यूटुबले समेत उहाँलाई आवश्यक ज्ञान दिएको छ । पहिलो चरणको कोभिड हुँदा देश ठप्प भयो तर खाम्चा भने यूटुबमै मौरी पालनका तौरतरिका हेरेरै समय बिताउनु हुन्थ्यो । यूटुबमा हेर्दा प्रयोगात्मक अलि कम हुने गर्दा उहाँले ५ घारमा नोक्सानी बेहोर्नुपर्यो तर पनि उहाँले पछि हट्नभएन । फलस्वरूप अहिले उहाँको घर वरिपरि सेताम्मे मौरीघार छन् । महको माग धानिसक्नु छैन् । गाउँमै प्रशस्त तोरी हुने र वरिपरि जङ्गल भएकाले मौरी चरनलाई कुनै समस्या छैन । खाम्चा जस्तै गाउँमा अन्य ३ जनाले समेत व्यावसायिक मौरीपालन गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button