तपाईँ सुन्दै हुनुहुन्छः

विश्व व्यापार सङ्गठनको बैठकमा भाग लिन ५ सदस्यीय प्रतिनिधि मण्डल जाने

काठमाडौँ । विश्व व्यापार सङ्गठनको १२ औ मन्त्री स्तरीय बैठकमा भाग लिन ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल शुकबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराई नेतृत्वमा  नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकको क्रममा नेपालले यस अघिको विश्व व्यापार सङ्गठन मन्त्री स्तरीय बैठकमा भएका सहमतिहरूको कार्यान्वयन तथा विकसित मुलुकहरूले अतिकम विकसित मुलुकहरूलाई विश्व व्यापार सङ्गठनको प्रावधान अनुसार उपलब्ध गराउनु पर्ने भनी तय भएका र कार्यान्वयनमा आउन नसेकेका विषयहरूको कार्यान्वयनमा विशेष जोड दिने भएको छ ।

त्यसै गरी विकसित मुलुकहरूले अतिकम विकसित मुलुकहरूका उत्पादनहरू मध्ये ९७ प्रतिशत वस्तुहरूमा डिउटी फ्री कोटा फ्रिको पहुँच दिनु पर्नेमा नदिएकोले सो प्रावधानको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा नेपालले जोड दिने भएको छ । 

त्यसै सम्मेलनको क्रममा नेपालले नेपाली सेवा प्रदायक कम्पनीहरूलाई विकसित मुलुकहरूले सन् २०३० सम्म पहुँच दिने भनेकोमा त्यस्तो पहुँच अहिलेसम्म नेपालले नपाएको र गैर भन्सार अवरोधहरू हटाउने लगायतका पुराना र नयाँ विषयहरू नेपालले बैठकको क्रममा उठाउने तयारी गरेको वाणिज्य मन्त्रालयका उपसचिव अमृत लम्सालले जानकारी दिनु भयो । १२औ मन्त्री स्तरीय बैठकमा यही २८ नोभेम्बरदेखि ३ डिसेम्बरसम्म स्वीटजरल्याण्डको जेनेभास्थित विश्व व्यापार, सङ्गठनको मुख्यालयमा हुने तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button