तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ फुटबल क्लबमाथि बीबीसीको रोमाञ्चक जित

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

बीबीसीले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । बीबीसीले खेलमा तीन पटक अग्रता लिँदै जित निकाल्न सफल भएको हो । बिबिसीको रोमाञ्चक दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपीएफका आशिष लामा र विक्की तामाङले गोल फर्काए पनि हार टार्न सकेनन् ।

जितपछि बीबीसीले ३ अङ्क जोडेको छ । एपीएफले अङ्क जोड्न सकेन । लिगमा बीबीसी पहिलो चरणमा जित निकाल्ने दोस्रो टोली बनेको छ । यसअघि रुस्लान थ्री स्टार क्लबले च्यासल यूथ क्लबलाई ३–० ले हराउँदै ३ अङ्क जोडेको थियो । सातदोबाटो, फ्रेन्ड्स, सङ्कटा र हिमालयन शेर्पाको समान एक अङ्क छ ।

दोस्रो खेलमा कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुआत गरेको छ ।

खेलमा जावलाखेल यूथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे । 

लिग अन्तर्गत सोमबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button