सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्री देउवाको आग्रह

इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका उहाँले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मत रूपमा चयन गर्न आग्रह गर्दै त्यसो नभए स्वच्छ प्रतिस्पर्धाबाट चयन गर्न अनुरोध गर्नुभयो ।

उहाँले पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिस्पर्धाको हिसाबले नभई सकभर सर्वसम्मत नभए लोकतान्त्रिक पद्धतिअनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्नका लागि आग्रह गर्नुभयो ।

पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिस्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुका साथै पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो ।

उहाँले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङग, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस १ नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, पूर्व राज्यमन्त्री तथा सङ्घीय संसद् सीताराम मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख सञ्जयसिंह थापालगायतको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्