ब्रम्हायणी र माथिल्लो ब्रम्हायणी एकसाथ बन्दै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको विकट हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा निर्माण हुने दुई जलविद्युत आयोजना एकसाथ निर्माण हुने भएको छ । मङ्गलवार एकै दिन भएको वातावरणीय प्रभाव मूल्याङ्कनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँच मार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराएको छ ।
ब्रम्हायणी ३६.५२ र माथिल्लो ब्रम्हायणी १५.१५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको सुरुवात भएको र यसको लागि पूर्वाधार तयारीका कामहरू तत्काल सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुवातबाट आयोजना निर्माण हुने ब्रम्हायणी जलविद्युत आयोजना र माथिल्लो ब्रम्हायणीको निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रा.लि.का प्रमुख भरत पराजुलीले जानकारी दिनुभयो ।
आयोजना निर्माण कम्पनीले आयोजना निर्माण स्थल जुगल गाउँपालिका २ र ३ सम्म पुग्ने १६ किलोमिटर मध्ये दश किलोमिटर पहुँच मार्ग निर्माण सम्पन्न भएको र बाँकी छ किलोमिटर सडक निर्माण सम्पन्न गरी आयोजनाको काम सुरु गर्ने भएको छ । ‘पहुँच मार्ग, आयोजना स्थलको आवास गृह र आयोजना निर्माणका अन्य पूर्वाधार निर्माण सम्पन्न गरी आयोजनाको काम सुरु हुनेछ’, निर्माण कम्पनीका प्रमुख पराजुलीले भन्नुभयो, ‘दुवै आयोजना सम्पन्न गर्न दश अर्ब लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ र तीन महिना भित्र पहुँच मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ’ ।
दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सार्वजनिक सुनुवाइ कार्यक्रममा आयोजना निर्माणस्थल तथा प्रभावित क्षेत्र जुगल गाउँपालिका ३ तेम्बाथान र वडा नम्बर २ दीपुका स्थानीयले स्थानीयका जायज माग र वातावरण सुरक्षामा ध्यान दिँदै थप काम अगाडि बढाउन सुझाव पेश गरेका छन् । ‘सीप, क्षमता अनुसारको स्थानीय सहभागिता, पर्यटन पदमार्गको सुरक्षा तथा स्तरोन्नति, चौरी खर्क संरक्षण तथा सामाजिक दायित्व पुरा गरी आयोजना अगाडी बढ्नुपर्छ’– जुगल गाउँपालिका ३ का वडा सदस्य नुर्वु शेर्पाले भन्नुभयो । आफ्नो बिकट गाउँमा विकासको कुनै सुरुवात नभएकोले आयोजना निर्माण सँगै गाउँमा विद्युतीकरण, सडक र सामाजिक विकासका अन्य काममा आयोजनाले सहयोग गर्नुपर्ने आफूहरूको माग रहेको जुगल गाउँपालिका ३ तेम्बाथानका जाङ्बु शेर्पाको भनाई छ ।
स्थानीयको जायज मागहरू, पहुँच मार्ग निर्माण, सामाजिक उत्तरदायित्व सँगै प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी र सञ्चारमा पहुँचको काम आयोजनाले पूरा गर्ने आयोजनाले जनाएको छ ।
दुई हजार छ सय ६५ मिटर उचाइमा निर्माण हुने जलविद्युत आयोजनामा लगन खोला र न्याम्या मसाल खोलाको पानी प्रयोग हुनेछ । नेपाल विद्युत् प्राधिकरणले दुवै आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको आयोजनाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्