कफी खेती प्रवर्द्धनका लागि बीमालेख जारी
काठमाडौँ । बीमा समितिले कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्नका लागि उत्पादनमा आधारित कफी खेती बीमालेख जारी गरेको छ ।

कफी खेती बीमाले अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा कीराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्नेछ कफी खेती बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय (घण्टा र मिनेट सहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने र बीमा लेखमा उल्लेख भएका सम्पूर्ण सर्तहरू बीमितले पालना गर्नुपर्ने प्रावधान रहेको छ ।
यस बीमालेख अन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुवैको बीमा गर्न सकिने र यस बीमालेख अनुसार जारी कफी खेतीको बीमा शुल्क बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको छ ।

यसैगरी, सामूहिक रुपमा वा साझेदारीमा गरिएको कफी खेतीको बीमाका हकमा बीमा लेखमा आबद्ध प्रत्येक व्यक्तिको छुट्टा छुट्टै दुर्घटना बीमा गरेको हुनुपर्ने र यस्तो बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाइने प्रावधान रहेको छ ।
बीमितले बीमा शुल्क बापत भुक्तानी गरेको रकम बीमकको बैङ्क खातामा प्राप्त नभएसम्म बीमकले बीमालेख जारी गर्न नपाउने तर अनुदानमा प्राप्त हुने बीमा लेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरी बाँकी रकम बीमकको बैङ्क खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाउने व्यवस्था रहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभयो ।
हाल देशका ४४ जिल्लाहरूमा कफी खेती हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्