तपाईँ सुन्दै हुनुहुन्छः

हाफ म्याराथनको उपाधि सोलुखुम्बुका कुलङलाई

सिन्धुपाल्चोक । चौथो संस्करणको पाँच पोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार हात पारेका छन् ।  

सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइको पाँच पोखरीबाट १६०० मिटरमा रहेको रैथाने पोखरी सम्म आज भएको प्रतियोगितामा कुलुङले निर्धारित २१.५ कि.मि. दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेन्ड मा पुरा गर्दै पहिलो भएका हुन् । 

दोस्रो र तेस्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः २ घण्टा २९ सेकेन्ड र २ घण्टा १ मिनेट ४० सेकेन्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाँचौँ स्थान हासिल गर्ने अर्जुन कुलुङ र तीर्थ तामाङले नगद १० हजार र ५ हजार जितेका छन् ।

महिला तर्फ धादिङका रसिला तामाङ पहिलो भएकी छन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेन्डमा दौड पुरा गरिन् । उपाधिसँगै उनले नगद ५० हजार जितिन् । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २५ सेकेन्ड मा दौड पुरा गर्दै दोस्रो स्थान प्राप्त गरिन । तेस्रो, चौथो र पाँचौँ स्थान क्रमशः सङ्गीता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राईले हात पारिन् । उनीहरूले नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार हात पारेका छन् ।

त्यस्तै प्रतियोगितामा सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा सन्च तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारे । उनीहरूले क्रमशः १५ हजार र १० हजार पुरस्कार जिते । 

भेट्रान पुरुषतर्फ गोर्खाका भीम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन् । उनीहरूले समान १० हजार पुरस्कार जिते । 

प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन एसियाली म्याराथनका स्वर्ण विजेता वैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button