भरतपुर विमानस्थलमा १० महिनामा पाँच हजार उडान : १लाख ४० हजार यात्रुले लिए सेवा

चितवन । भरतपुर विमानस्थलमा बर्ष २०२१ को १० महिनामा झन्डै पाँच हजार वटा उडान भएको छ । सो अवधिमा करिब १ लाख ४० हजार यात्रुले सेवा लिएका छन् । सो वर्षको जनवरीदेखि अक्टोबर सम्म १ लाख ३९ हजार ८८३ जनाले सेवा लिएका हुन् । कार्यालयका अनुसार सबैभन्दा बढी अक्टोबर महिनामा २६ हजार ८१ र सबैभन्दा कम जुन महिनामा १३ जना यात्रुले सेवा लिएका थिए ।
यस्तै जनवरी महिनामा १३ हजार १९३ , फेब्रुअरीमा १७ हजार ३२३ जना, मार्च महिनामा १८ हजार ७४३ , अप्रिलमा १६ हजार ८८० , मे महिनामा १ हजार २११ जना जुलाईमा, १७ हजार १०९ ,अगष्टमा १८हजार २५६ र सेप्टेम्बरमा २४ हजार २८० जना यात्रुले सेवा लिएका थिए ।कार्यालयका सूचना अधिकारी दिपक विकले जुन महिनामा कोरोनाका कारण निषेधाज्ञा भएकाले नियमित उडान बन्द भएकोले जुन महिनामा चार्टर विमान मात्र भएको जानकारी दिनुभयो । ‘मे देखिनै निषेधाज्ञा भयो । नियमित उडान बन्द भयो, उहाँले भन्नुभयो, ती यात्रु चार्टर विमानका मात्रै हुन् ।
उहाँका अनुसार अक्टोबर महिनामा चाडबाड भएसँगै यात्रुको सङ्ख्यामा पनि वृद्धि भएको हो । ‘चितवनमा चाडबाडमा उडान सङ्ख्या पनि बढ्यो, उहाँले भन्नुभयो , चाडबाड र राजनीतिक गतिविधिले उक्त महिनामा यात्रुको चाप बढेको हो ।’
झन्डै पाँच हजार उडान
विमानस्थलमा १० महिनाको अवधिमा विभिन्न उडान कम्पनीले झन्डै पाँच हजार उडान भरेका छन् ।कार्यालयका अनुसार उक्त अवधिमा ४ हजार ९१२ पटक उडान र अवतरण भएको छ । यी मध्ये सबैभन्दा बढी अक्टोबर महिनामा ९०६ वटा उडान भएको छ भने सबैभन्दा कम जुन महिनामा ६ वटा उडान भएको छ ।
यस्तै जनवरी महिनामा ४१० वटा, फेब्रुअरीमा ५४८, मार्चमा ५९४, अप्रिलमा ५६० , मे महिनामा ६० जुलाईमा ५४६, अगष्टमा ५६८ र सेप्टेम्बर महिनामा ७१४ वटा उडान भएको कार्यालयले जानकारी दिएको छ । सूचना अधिकारी विकले अक्टोबरमा उडान सङ्ख्यामा वृद्धि भएको र जुन महिनामा चार्टर मात्र उडान भएकोले उडान सङ्ख्या कम भएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्