तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा भाइटिका महोत्सव

कास्की । पोखरामा यो वर्ष २० जना विदेशी पर्यटकहरूले भाइटिका लगाएका छन् । पश्चिमाञ्चल होटेल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटिका महोत्सवमा यस पटक २० विदेशी नागरिकले टीका ग्रहण गरेका हुन् । कोभिड–१९ को कारण विगत २ वर्षदेखि रोकिएको महोत्सवले यस पटक १४ औंं संस्करणको रुपमा पुनः निरन्तरता पाएको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्बो चिल्ड्रेन होमका छात्राहरूले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए । शनिबार भाइटिकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटिका कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

विदेशी नागरिकलाई टीका लगाइदिएपछि उनीहरूलाई सयपत्री फुलको माला, नेपाली पहिचानको टोपी र सेलरोटी लगायत परिकार छात्राहरूले दिएका थिए । सो अवसरमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकाको महत्त्वबारे विदेशी नागरिकलाई जानकारी गराउनुभएको थियो ।कोरोना महामारीका कारण २ वर्षदेखि थला परेको पोखराको पर्यटन क्षेत्र भाइटिका महोत्सवले सकारात्मक सन्देश प्रवाह गरेको पर्यटन व्यवसायीहरूको अनुभव रहेको छ ।

नेपालमा सन् २०२१ अगस्तसम्म झन्डै ७० हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । त्यसअघि सन् २०२० मा २ लाख ३० हजार आएकोमा सन् २०१९ मा करिब १२ लाख विदेश पर्यटक नेपाल घुमेका थिए । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत जसो पोखरा आउने गर्दछन् । कोरोनाअघि पोखरामा करिब ४ लाख स्वदेशी र ३ लाख विदेशी गरी ७ लाख पर्यटकले भ्रमण गरेको अनुमान छ । पोखरा पर्यटन परिषद्का अनुसार हाल पोखराको पर्यटन क्षेत्रमा ५ खर्ब जतिको लगानी रहेको छ । भाइटिकामा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button