इराकी प्रधानमन्त्रीको हत्या प्रयास
इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल हुनुभएको सैन्य अधिकारीहरूले जनाएका छन् ।
इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उहाँमाथि अज्ञात व्यक्तिहरूले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ ।
घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उहाँलाई कुनै असर नपरेको र उहाँको अवस्था सामान्य नै रहेको अधिकारीहरूले जनाएका छन् । घटनालगत्तै उहाँलाई अस्पताल लागिएको थियो । सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सबैलाई आग्रह गर्नु भएको छ । उहाँले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गर्नु भएको छ ।
अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रिन जोनमा रहेको उहाँको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिक नियोगहरूको कार्यालय रहेको क्षेत्रमा भएको आक्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले घटनाको भर्त्सना गर्दै आक्रमणकारीहरूबाट अक्ष्यम्य अपराधको प्रयास भएकाले घटनाका बारेमा पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्