तपाईँ सुन्दै हुनुहुन्छः

रिक्त दरबन्दीको विवरण बुझाउन प्रदेश लोकसेवा आयोगको आग्रह

बैतडी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले गएको साउनमा स्थानीय तहहरूलाई रिक्त दरबन्दीको विवरण बुझाउन आग्रह गरेको भए पनि धेरै जसो स्थानीय तहहरूले अझै विवरण बुझाएका छैनन् । प्रदेशका ८८ स्थानीय तहमध्ये अझै ३८ स्थानीय तहहरूले रिक्त दरबन्दीको विवरण नबुझाएको प्रदेश लोक सेवा आयोगका सचिव दुर्गादत्त विष्टले बताउनुभयो । 

बैतडीका चार ओटा स्थानीय तहहरूले अझै पनि आयोगलाई रिक्त दरबन्दीको विवरण नबुझाएका पाइएको छ । जिल्लाको मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले रिक्त दरबन्दीको विवरण नपठाएका हुन् । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थानीय तहहरूलाई विवरण बुझाउन ताकेता गरिरहेको सचिव विष्टले बताउनुभयो । 

तहहरूले समयमा विवरण नपठाउँदा आयोगलाई विज्ञापन आह्वान गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । स्थानीय तहहरूले करारमा कर्मचारी भर्ना गरेको हुनाले पनि विवरण नपठाएको हुन सक्ने अनुमान गरिएको छ । तर आयोगले रिक्त दरबन्दी र करारमा रहेकाहरूलाई समेत रिक्त मानेर विवरण पठाउन आग्रह गरेको छ । 

सुदूरपश्चिम लोक सेवा आयोगले पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुर्‍याइसकेकाले विवरण प्राप्त भएमा विज्ञापन आह्वान गर्न तयार रहेको जनाएको छ । कतिपय ठाउँबाट स्थानीय तहहरूले दरबन्दी लुकाएको भन्ने गुनासो समेत आइरहेको सचिव विष्टले बताउनुभयो । 

यस्तो भेटिएमा प्रदेश लोकसेवा आयोग ऐन अनुसार कार्यालय प्रमुखलाई विभागीय कारबाही हुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button