कालिगण्डकीबाट २२०० किलो फुल बिक्री

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा लगाइएको फुल खेतीबाट ४०० जना प्रत्यक्ष रोजगारीबाट लाभान्वित भएका छन् । पालिकाले १९ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेको छ । फुल खेतीमा स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् ।
फुल रोपणदेखि गोडमेल, माला बनाउने, फुल टिप्ने गरी ४०० जनाले रोजगारी पाएका हुन् । सयपत्री कर्मा ५५५ जातको फुल लगाइएकोमा पहिलो चरणको फुल बिक्री सकिएको छ । तिहारअघि नै तिहारका लागी साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका लागी कालिगण्डकीमै आएर ग्राहकले फुल लगेका छन् ।

उक्त जातको फुल मङ्सिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणको फक्रिएका फुल उत्पादन सकिएको छ भने अन्य कोपिला लागिरहेका छन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार देशभरका ७ प्रदेशमध्ये यहाँको फुल ४ प्रदेशमा पुगेको छ । गण्डकी प्रदेशसँगै लुम्बिनी, बाग्मती र कर्णाली प्रदेशसम्म यहाँको फुल निर्यात भएको छ । थुँगा फुल र फुलको माला गरी २ हजार २०० किलो बिक्री गरिएको अधिकृत पौडेलले बताउनुभयो । अधिकृत पौडेलले भन्नुभयो, ‘१ बोट बराबर ३ सय देखि ४ सय सम्म फुल फुल्ने जातको सयपत्री लगाएका हौँ । पहिलो पटक गरिएको फुल खेतीले राम्रै सफलता मिलेको छ ।’ शुरुमा फुल बिक्री नहुने हो की भन्ने चिन्ताका साथ गरिएको फुल खेतीले माग धान्न समेत गाह्रो भएको अधिकृत पौडेलले बताउनुभयो । पालिकाले फुल खेतीमा साढे ३ लाख खर्च गरेको थियो ।
व्यावसायिक रुपमा धेरै उत्पादन गरिएमा बजारको समस्या नहुने रहेछ भन्ने अनुभव समेत फुल खेतीबाट प्राप्त गरेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ७ बारीचौरमा ५ र वडा नम्बर ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । पालिको पहिलो पटक शुरु गरेको व्यावसायिक फुल खेती सफल भएपछि हरेक वडामा व्यावसायिक फुल खेतीका लागी कृषकहरू हौसिएका छन् ।

बारीचौरलाई फुलैफुलको होमस्टे बनाउने पालिकाको योजना रहेको छ भने विर्घामा गरिएको ड्रागन खेतीसँगै फुल खेतीसमेत गरिएको थियो । पालिकाले १४ सय पिलरमा ४८०० बेर्ना ड्रागन फ्रुटको समेत खेती गरेको छ । २४ सय रोपनीमा फैलिएको ड्रागन खेतीमा तरकारी खेती समेत गरिएका छन् ।
प्रथम पटक गरिएको फुल खेतीबाट किसानहरू प्रेरित भएकाले आगामी समयमा हरेक वडामा फुल खेती विस्तार गरिने पालिका अध्यक्ष खिम थापाले जानकारी दिनुभयो । पालिका अध्यक्ष थापाले भन्नुभयो, ‘किसानले फुलको बिउ, आवश्यक प्राविधिक सहयोग गर्नेछ । किसानलाई प्रोत्साहन गर्नका लागि विभिन्न अनुदान पनि हामीले दिनेछौँ । बजारीकरणका लागी पनि पालिकाले जिम्मा लिनेछ । हामीले फुल खेती वडा वडामा विस्तार गर्नेछौँ ।’ कृषिका माध्यमबाटै स्थानीय नागरिकलाई हौसला दिनका लागि पनि पालिकाले नै फुल खेती र ड्रागन खेती शुरु गरेको अध्यक्ष थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्