तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीको जीवनी

कर्णाली । दुई पटक सङ्घीय मन्त्री भइसकेका काँग्रेस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । 

प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा काँग्रेसले भने एक सिट मात्र जित्यो । त्यो जितको खाता पनि उहाँले नै खोल्नुभयो । हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट विजयी नेता शाही समानुपातिक पाँच सांसदको नेतृत्व गर्दै पार्टीको संसदीय दलको नेता रहँदा उहाँका लागि मुख्यमन्त्री पद एक किसिमले भन्नुपर्दा सम्भावनाको दूरीबाट टाढै थियो । 

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई लिएर सर्वोच्च अदालतले ती दललाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रदेशको अङ्क गणितमा पनि फेरबदल आयो । 

माओवादी र एमाले अलग–अलग भए पनि एमालेभित्रको विवाद झनै बल्झियो । कर्णाली प्रदेशसभामा एकल बहुमतमा रहेको एमाले अन्ततः विभाजन भई १३ सिटमा खुम्चियो । 

एमाले र माओवादी केन्द्रको टकरावले प्रदेशसभामा ६ सिट रहेको कांग्रेस अन्ततः निर्णायक बन्न पुग्यो । नेता जीवनबहादुर शाही मङ्गलवार नेकपा (माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)का प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभयो । 

एमाले भित्रको अन्तर सङ्घर्ष विभाजनसम्म आइपुग्दा कर्णालीमा एमालेको एकल बहुमत मात्रै गुमेन, प्रतिनिधिसभाको दोस्रो पटक विघटनपछि केन्द्रीय राजनीतिमा बनेको एमाले इतर दलको गठबन्धनका कारण कर्णालीको सत्ता सम्हाल्ने जिम्मेवारी कांग्रेस नेता शाहीको काँधमा आइपुग्यो । 

पार्टी पूर्ववत् अवस्थामा फर्केपछि एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थाल्यो । 

समर्थन फिर्तापछि यही वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका असन्तुष्ट चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि उहाँको पद जोगियो । त्यति बेलै माओवादी केन्द्र, कांग्रेस र एमालेका असन्तुष्ट सांसदबीच ६ महिनापछि कांगे्रसलाई सत्ता हस्तान्तरण गर्ने सहमति जुटेको थियो ।  

तीन वर्ष आठ महिना प्रदेश सरकारको नेतृत्व गरेर सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले आफूले विश्वासको मत लिनुअघि वैशाख २ गते भएको सहमतिअनुसार  काँग्रेसलाई पद हस्तान्तरण गर्न सहजै तयार हुनुभयो । 

नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका गरी २१ सांसदको समर्थनमा काँग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका शाही कर्णालीको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभयो । 

विसं २०२१ फागुन २० गते हुम्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तर्गत खर्पेल गाउँमा बाबु मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका शाहीसँग केन्द्र सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी तथा सरसफाइ मन्त्रीका रुपमा काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएका उहाँले विद्यालय शिक्षा भने काठमाडौँको बुढानीलकण्ठ स्कुलबाट पूरा गर्नुभएको हो । उहाँले अमेरिका, बेलायत, भारत, चीन, जापानलगायत ३० भन्दा बढी मुलुकको भ्रमण गर्नुभएको छ । 

नवनियुक्त मुख्यमन्त्री शाहीको राजनीतिक यात्रा भने २०४६ सालबाट सुरु भएको हो । प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने क्रममा केही समय भूमिगत हुनुभयो । त्यस्तै विसं २०६२÷६३ को जनआन्दोलनमा तीन महिना जेल बिताउनुभयो । 

२०४६ देखि २०६२ सालसम्म हुम्ला  काँग्रेसको सभापति, जिल्ला विकास समिति हुम्लाको सभापति, तत्कालीन कांग्रेस(प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, नेपाली  काँग्रेसको १२ र १३औँ महाधिवेशनबाट केन्द्रीय समिति सदस्य निर्वाचित हुनुभयो । पार्टी कामकै सिलसिलामा उहाँले विसं २०६८ देखि २०७२ सम्म महाकाली इञ्चार्जका रुपमा जिम्मेवारी पूरा गर्नुभयो ।  
अध्ययनशील छवि र प्रखर स्वभावका मुख्यमन्त्री शाहीले संयुक्त राज्य अमेरिकाबाट पाइलटको तालिम लिए पनि उहाँले विमान उडानतर्फ भने चासो दिनुभएन । अति विकट कर्णाली र त्यसमा पनि विकट हुम्ला जिल्लालाई कुशल राजनीतिज्ञ बनेर विकासको गोरेटोमा डोर्याउने सङ्कल्पका साथ नेपाल फर्केर यात्रा मोड्नुभयो । 

कर्णालीलाई राजनीतिक कार्यथलो बनाउँदै गर्दा उहाँले सामाजिक क्षेत्रमा समेत थुपै्र काम गर्नुभएको छ । 

स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्ला, सामुदायिक रेडियो कैलाश एफएम, नेपाल रेडक्रस सोसाइटी, द रेयुकाई नेपाल हुम्लाको संस्थापक अध्यक्ष भएर उहाँले सामाजिक जिम्मेवारी पूरा गरेको अनुभव छ । 

प्रदेशसभा बैठकमा कर्णालीको विकासका लागि ६ ‘ब’ मा जोड दिने नेता शाहीले मङ्गलवार राति पदबहालीका क्रममा पनि सोही अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँका अनुसार ६ ‘ब’ भनेको बाटो, बिजुली, बजार, वन, व्यस्थापन र विचार हो । “कर्णालीको विकासका लागि बाटो, बिजुली र बजार मात्र भएर हुँदैन, कर्णालीवासीको विद्यमान सोच–विचारमा पनि परिवर्तन आउन जरुरी छ,” उहाँले भन्नुभयो, “भौतिक विकाससँगै गलत मानसिकतामा सुधार ल्याउन सके, कर्णालीको विकासको बाधक नकारात्मक सोच पनि हो ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button