कर्मचारीहरूलाई परिणाम देखिने गरी काम गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परिणाम देखिने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज मन्त्रालयमा आयोजित प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधानको बैठकमा मन्त्री कार्कीले दुर्गम क्षेत्रका नागरिकले समेत विकासको अनुभूति गर्ने गरी युद्ध स्तरमा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

उहाँले काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको भन्दै गर्नु पर्ने कामको स्पष्ट मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले सरकारले कर्मचारीको कार्यसम्पादनलाई हेरेर मूल्याङ्कन गर्ने भएकाले उत्साहका साथ इमान्दार र प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री कार्कीले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताका नाममा हुने गरेका विकृति र विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले पन्ध्रौँ योजनाले लिएको डिजिटल नेपाल बनाउने लक्ष्यलाई पुरा गर्ने तर्फ सञ्चार मन्त्रालय र मातहतका निकायले कार्य योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले राजश्व असुली र बेरुजु फर्छ्यौटमा तदारुकताका साथ लाग्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्