तपाईँ सुन्दै हुनुहुन्छः

४५ दिन भित्र नगरकोट सडक सम्पन्न गर्नेबारे छलफल

भक्तपुर । ४५ दिनभित्र नगरकोट सडक सम्पन्न गर्ने अभियानमा जुट्नु भएका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । प्रचण्डलाई भेट्न मन्त्री भँडेल आज बिहान उहाँको निवास खुमलटार पुग्नुभएको हो ।

नगरकोट सडक निर्माण कार्यसँग अध्यक्ष प्रचण्डका घरबेटी भनी निर्माण व्यवसायी शारदा अधिकारीको नाम जोडिएकाले मन्त्री भँडेलले सडक निर्माण छिटो सक्ने पहल स्वरूप अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको हो । मन्त्री भँडेलले अध्यक्ष प्रचण्डसँग नगरकोट सडक खण्ड नबन्दा लामो समयदेखि पर्यटन तथा स्थानीय जनताले ठूलो दुःख पाउनु परेको बताउनुभयो ।

प्रचण्डले सडक समयमै सम्पन्न गर्न पहल गर्ने आश्वासन दिनुभएको मन्त्री भँडेलले बताउनुभयो । सो क्रममा निर्माण व्यवसायी अधिकारीले ४५ दिन भित्र सडक निर्माण सम्पन्न गर्ने विश्वास दिलाएको मन्त्री भँडेलले जानकारी दिनुभयो ।

भेटमा संलग्न नेपाली काँग्रेस क्षेत्र नम्बर १ भक्तपुरका सभापति जीवन खत्रीका अनुसार मन्त्री भँडेलले अध्यक्ष प्रचण्डसँग आफूले सडक निर्माणलाई मुख्य चुनावी मुद्दा बनाएको र अहिले संयोगले सम्बन्धित मन्त्री भएकाले सडक निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले अध्यक्ष प्रचण्डसँग समेत सडक निर्माणको ढिलासुस्तीमा प्रचण्डका घरबेटी भनी जोडिने गरेका कारण पनि सडक निर्माणमा चाँसो राखी सत्ता गठबन्धनको समेत इज्जत बढाउनु अनुरोध गरेको सभापति खत्रीले बताउनुभयो । खत्रीका अनुसार सडक निर्माण कार्यमा पछिल्ला दिनमा तीव्रता आएको जानकारी आफूले पाएको प्रचण्डले बताउनुभयो ।

कमलविनायक नगरकोट सडक लामो समय देखि नबन्दा स्थानीयले दुःख पाउनु परेको छ ।

स्थानीय तथा पर्यटकले धुलो सडकका कारण खेप्नु परेको हैरानी समाधानका लागि भौतिक पूर्वाधार मन्त्री भँडेल आफै जुट्नु भएको हो ।जनताको सर्वाधिक चासोको एवं मर्का परेको नगरकोट सडक ४५ दिन भित्र सम्पन्न गर्न  मन्त्री भए लगत्तै भँडेल विभिन्न पक्षसँग छलफलमा जुट्नुभएको हो ।

सडक समयमै नबन्दा जहिले पनि अध्यक्ष प्रचण्डका घरबेटी भनी अधिकारीको नाम जोडिने गरेकाले भँडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सत्ता गठबन्धनका नेता प्रचण्डसँग छलफलमा जुट्नुभएको हो ।निर्माण व्यवसाय क्षेत्रमा आबद्ध र चाँगुनारायण प्रदेशबाट निर्वाचित भँडेलको चुनावी नारा नै नगरकोट सडकलाई प्राथमिकता दिने रहेको थियो ।

भेटमा माओवादी केन्द्रका नेता दिलीप प्रजापति, डीपी ढकाल र प्रदेश सांसद प्रतिमा श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button