मौरी घार बिक्रीबाट वार्षिक १८ लाख आम्दानी

सल्यान । सल्यान कालीमाटी गाउँपालिका –१ लक्ष्मीपुरका बाल कँवरले मौरी घार बिक्रीबाट वार्षिक १८ लाखभन्दा बढी आम्दानी गर्दै आइरहनुभएको छ ।
स्थानीय कच्चा पदार्थबाट सहजै घार निमार्ण गर्न सकिने भएपछि उहाँले घार निर्माणबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको हो ।
वार्षिक पाँच सयदेखि छ सयसम्म घार निर्माण गर्दै आइरहेको बताउँदै उहाँले माग अनुसार घार पुर्याउन नसकेको बताउनुभयो ।
एक घारको काठ अनुसार २ हजार ५ सयदेखि ३ हजार ५ सयसम्म बिक्री हुने गरेको बताउँदै उहाँले घार बिक्रीबाट गत वर्ष मात्र १९ लाख आम्दानी भएको बताउनुभयो । उहाँले भन्नुभयो “गत वर्ष ६ सय घारको माग भएको थियो यो वर्षको लागि अब सिजन सुरु हुँदै छ । चालु वर्षमा पनि ६ सयको हाराहारीमा माग आउने अनुमान गरेको छु ।”
२०७४ देखि व्यावसायिक घार निर्माण गर्दै आइरहनुभएका कँवरले वार्षिक सरदर १७ देखि २० लाखसम्म आम्दानी हुँदै आइरहेको बताउनुभयो । घारको माग अनुसार आम्दानी तलमाथि हुने उहाँको भनाई छ ।
मजदुरको पारिश्रमिक, कच्चा पदार्थ खरिद र घर खर्च कटाएर १२ देखि १५ लाखसम्म चोखो आम्दानी हुँदै आइरहेको उहाँले बताउनुभयो ।
सरकारले विभिन्न जिल्लामा माहुरी ब्लक कार्यक्रम सञ्चालन गरेका कारण पनि मौरी घारको माग आउने गरेको उहाँको भनाई छ ।
मौरी घारको माग सबैभन्दा धेरै रुकुम पूर्व र पश्चिमबाट आउने गरेको कँवरले बताउनुभयो । यस्तै जाजरकोट, सुर्खे, दाङ र सल्यानका विभिन्न पालिकाबाट माग आउने गरेको उहाँले बताउनुभयो ।
नियमित चार र सिजनमा १२ जनासम्मलाई रोजगारी
व्यावसायिक मौरी घार निमार्ण गर्दै आइरहेका कँवरले नियमित चार जनालाई रोजगारी दिँदै आइरहनुभएको छ ।
तर सिजनमा भने उहाँले मजदुर थप्ने गर्नुभएको छ । उहाँले मङ्सिरको अन्तिमबाट मौरी घारको सिजन सुरु हुने बताउँदै सिजनमा चार जनाले मात्र घार निर्माण गर्न नसक्ने भएकाले अन्य ६/७ जना मजदुरलाई रोजगारी दिने गरेको बताउनुभयो ।
सरकारी कार्यालयहरूले मङ्सिरबाट घारको माग गर्ने भएकाले आफ्नो सिजन हुने गरेको उहाँको भनाई छ । “नियमित रुपमा घरका बाबुछोरासहित चार जनाले नियमित काम गछौँ तर मङ्सिरदेखि थप ६/७ जनालाई थप्ने गरेका छौँ ।” उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्