तपाईँ सुन्दै हुनुहुन्छः

२० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँ तिरे पुग्ने

काठमाडौँ । विद्युत् नियमन आयोगले मङ्सिरदेखि लागु हुने गरी विद्युतको नयाँ महसुल दर निर्धारण गरेको छ । 

आयोगले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिर्नु पर्ने गरी नयाँ महसुल दर निर्धारण गरिएको बताउनुभयो । 

मासिक २० युनिट भन्दा कम विद्युत् खपत गर्ने करिब २० लाख ग्राहकले यो सुविधा प्राप्त गर्ने आयोगले जनाएको छ । 

यसै गरी सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १ सय ५१ देखी २ सय ५० युनिट सम्म खपत गर्ने ग्राहकलाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा महसुल कायम गरिएको छ । 

मासिक ४ सय युनिट भन्दा माथि खपत गर्ने ग्राहक वर्गका उपभोक्तालाई प्रतियुनिट ११ रुपैयाँ महसुल कायम गरिएको आयोगका अध्यक्ष सिंहले बताउनुभयो । 

आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । 

यसबाट घरायसी प्रयोजनमा समेत विद्युतको उपभोग बढ्ने र खाना पकाउने एलपि ग्यासको आयातमा केही भए पनि कमी आउने आयोगको विश्वास रहेको अध्यक्ष सिंहले बताउनुभयो । 

आयोगले सिँचाइका लागि विशेष सहुलियत स्वरूप महसुलमा ८० प्रतिशतसम्म घटाएको विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button