गण्डकीमा बर्षातका कारण ३ हजार ३५ मेट्रिकटनभन्दा बढी धानको क्षति

पोखरा । बेमौसमी वर्षाले गण्डकी प्रदेशमा ८७ लाख ५५ हजार ३ सय ९८ रुपैयाँ बराबरको धान बालीमा क्षति पुर्याएको छ ।
१ लाख १७ हजार १ सय ३९ हेक्टर क्षेत्रफलमा लगाइएको ३ हजार ३५ मेट्रिकटनभन्दा बढी धान बर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कृषि विकास निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा झरी वर्षा र हावाहुरीको कारण ८ सय ४३ हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली पूर्ण रुपमा नोक्सानी भएको छ भने ७ हजार १ सय १२ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा आंशिक नोक्सानी गरेको छ ।
बेमौसमी वर्षाले गण्डकी प्रदेशका, पर्वत, तनहुँ, कास्की र बागलुङ जिल्लामा धेरै असर गरेको छ ।
निरन्तरको वर्षाले भित्र्याउने बेला भएको धान बालीमा क्षति पुर्याएको हो ।
थन्काउने बेलामा आएको पानीले धान बालीमा ठुलो क्षति हुँदा कृषकहरू निकै चिन्तित बनेका छन् ।
गण्डकी प्रदेशमा २ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धान भने भित्र्याई सकिएको छ ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन । गण्डकी प्रदेशका किसानले जेठो बुढो, एक्ले, गौरीया रामधान, लोकतन्त्र, मन्सुली, खुमल समूह, गुडुरा लगायतका स्थानीय जातका धान रोप्दै आएका छन् भने हाइब्रिड धान तर्फ किसानले च्याप्यिन, हर्दिनाथ,४४४५ लगायतका धान लगाउँदै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्