राजमार्गका घुम्तीहरू फराकिलो भएसँगै यात्रा सहज

बैतडी । बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहरू फराकिलो भएसँगै यात्रा सहज भएको छ ।
अनारखोलीदेखि झुलाघाटसम्म ८९ किलोमिटर राजमार्ग गत वर्षदेखि फराकिलो बनाउने योजना लागु भएदेखि सवारी साधन चलाउन सजिलो भएको छ ।
विगतमा ४ मिट भन्दा कम चौडाइ रहेका राजमार्गका घुम्तीहरू अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताउनुभयो ।
विगतमा ठुला गाडीहरूका लागी ठिक्क रहेका घुम्तीहरू अहिले फराकिलो बनाएपछि गाडीहरू सहजै अटाउने भएको उहाँले बताउनुभयो ।
घुम्तीहरू फराकिलो बनाउनका लागि यसबर्ष पनि सडक डिभिजन कार्यालय पाटनमा सङ्घीय सरकारबाट ५ करोड रकम प्राप्त भएको छ ।
राजमार्गका घुम्तीहरूको चौडाइ बढेसँगै यात्रुहरूको डर घटेको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज जोशीले बताउनुभयो ।
सडक नै विकासको मुख्य पूर्वाधार भएकाले सडक निर्माणमा सरकारको ध्यान जानु राम्रो पक्ष भएको उहाँले बताउनुभयो ।
राजमार्गका साथै ग्रामीण सडकहरू समेत स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।
सडक फराकिलो भएसँगै दुर्घटना न्यूनीकरण हुने अपेक्षा रहेको यातायात व्यवसायीहरूले बताएका छन् ।
राजमार्गका घुम्तीहरू फराकिलो बनाइए पनि धेरैजसो ठाउँमा कालोपत्रे गर्ने कार्य बाँकी रहेको छ । कालोपत्रे गर्ने कार्य निरन्तर जारी रहने सडक डिभिजन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्