हलुका सवारी साधनको आयात बढ्यो

बीरगंज । चाड पर्व नजिकिएसँगै वीरगन्ज नाका हुँदै हलुका सवारी साधनको आयात बढेको छ ।
दसैँ, तिहार जस्ता चाडपर्वमा नयाँ सवारी साधन खरिद गर्ने चलन र बिक्रेताहरूले पनि चाडपर्वको मौका छोपेर अफर ल्याउने भएकाले जिप, कार, भ्यान, मोटरसाइकल जस्ता सवारी साधनको आयात साबिकको भन्दा झन्डै चार गुणाले बढेको छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले विगत १ साता यता जिप, कार, भ्यान, मोटरसाइकल जस्ता हलुका सवारी साधनको आयात बढेको बताउनुभयो । असोजको पहिलो साता दैनिक औसत २० वटा सम्म जिप, कार, भ्यान जाँच पास हुने गरेकोमा हाल दैनिक रुपमा कम्तीमा पनि ६० देखि ८० वटा सम्म जिप, कार जाँच पास भइरहेको पौडेलले बताउनुभयो ।
चाडबाड भित्रिएसँगै दैनिक औसतमा ८० करोडको हराहरीमा हलुका सवारी साधनबाट राजश्व सङ्कलन भइरहेको पौडेलले बताउनुभयो ।
जुन साबिकको भन्दा झन्डै डेढ गुणा बढी हो । वीरगन्ज नाका मुलुककै सर्वाधिक बढी सवारी साधन आयात हुने नाका हो । भारत तथा तेस्रो मुलुकमा निर्मित सवारी साधन पनि वीरगन्ज नाका हुँदै आयात हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्