तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेश मन्त्रीबीच दिल्लीमा भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्ड (फाइल तस्बिर )

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डले आज भारतीय विदेश मन्त्री एस जय शंकरसँग भेटवार्ता गरेको छ ।

नेपाली काँग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोलीले आज अपराह्न विदेश मन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा।महतले जानकारी दिनुभयो ।

सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी  भएको उहाँले जानकारी दिनुभयो ।

दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेश मन्त्री जय शंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेश मन्त्रीले सकारात्मक रुपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताउनुभएको डा महतले जानकारी दिनुभयो ।

त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेश मन्त्री जय शंकरसँग कुरा राखेको उहाँले बताउनुभयो । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

सो भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरुद्धको कोभिसिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेश मन्त्री जय शंकरले दिनुभएको पनि डा महतले बताउनुभयो ।

उक्त द्विपक्षीय भेटमा नेपालका तर्फबाट डा महतसहित नेपाली काँग्रेसका नेता द्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेश मन्त्री जय शंकरसहित भारतीय जनता पार्टीका नेता द्वय विजय चौथाइवाले र आश्विन जोहर हुनुहुन्थ्यो ।

भारतीय जनता पार्टीको आमन्त्रणामा पूर्व परराष्ट्र मन्त्री समेत रहेका सह महामन्त्री डा.महत नेतृत्वको सो टोली बिहीबार भारत पुगेको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button