घरेलु तथा साना उद्योगहरूको बजार प्रवर्द्धन गर्न व्यापार मेला आयोजना

पोखरा । गण्डकी प्रदेश स्तरीय लघु उद्यमी व्यापार मेला पोखराको लेकसाइडमा शुरु भएको छ ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका लघु घरेलु तथा साना उद्योगहरूको बजार प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यका साथ राष्ट्रिय लघु उद्यमी महासघं नेपालले लघु उद्यमी व्यापार मेला आयोजना गरेको हो ।
वर्तमान अवस्थामा लघु, घरेलु तथा साना उद्योगहरू दिन प्रतिदिन धराशायी हुँदै गएको यस क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योग, व्यवसाय सँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रतिस्पर्धा गर्नुपरेको वर्तमान अवस्थामा यस क्षेत्रको प्रवर्द्धन गर्न मोला आयोजना गरिएको राष्ट्रिय लघु उद्यमी महासघंका सचिव चन्द्र बहादुर नेपालीले जानकारी दिनुभयो ।
खेर गइरहेका स्थानीय कच्चा पदार्थको सदुपयोग, ग्रामीण भेगको आय स्तर वृद्धिका साथै रोजगारी सिर्जना, स्थानीय सिप, कलाको संरक्षण लघु तथा घरेलु उद्योगहरूको योगदान अतुलनीय रहेको भन्दै यस क्षेत्र बाट उत्पादित बस्तु निर्यात योग्य हुने वैदेशिक बजारमा समेत माग भएकाले यसको प्रवर्द्धनमा लाग्नुपर्ने आजको आवश्यकता रहेकाले मेला आयोजना गरिएको उहाँले बताउनुभयो । स्वदेशी वस्तुको प्रयोग उच्चतम रुपमा गर्न लघु उद्यमी महासघं नेपालले आग्रह गरेको छ ।
मेलामा परम्परागत हस्तकलाका सामाग्रीहरू, नेपाली हाते कागज र त्यसबाट बन्ने उत्पादित वस्तु, गलैँचा, राडिपाखी, अल्लो, केरा, भाँगो, केत्तुकी, लोक्ता जुट जस्ता प्राकृतिक रेशा जन्य वन तथा वनस्पति बाट परम्परागत ढंगले प्रशोधन गरी उत्पादन गरिएका सामानहरू, काठ, वेत, निगालो र बाँसबाट बनेका घरायसी सजावटका सामाग्रीहरू, हाते औजार बाट बनेका पश्मिना, ढाका तथा अन्य कपडा बाट बनेका सामाग्रीहरू प्रदर्शनीका लागि राखिएको छ । त्यस्तै तयारी पोशाकका साथै हर्बल, मह, जाम, जुस, सिस्नु पाउडर, लप्सी र अदुवाको क्याण्डीका साथै अर्ग्यानिक खानाका परिकार समेत राखिएको छ ।
लघु उद्यम गरौँ उद्यमी बनौँ उद्यमशीलताको माध्यमबाट गण्डकी प्रदेशलाई समृद्ध बनाऔँ भन्ने मूल नाराका साथ बिहीबार देखि सञ्चालन भएको मेला २५ गते सम्म चल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्