तपाईँ सुन्दै हुनुहुन्छः

प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

जुम्ला । कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरका पुराना लिङ्गो फेरिएको छ । घटस्थापनाका दिन नयाँ लिङ्गो हाल्ने पुराना हटाउने परम्परा अनुसार बिहीबार चन्दननाथ भैरवनाथ मन्दिरका लिङ्गा फेरिएको हो । 

असोज १८ गते चन्दननाथ ३ को जङ्गलबाट ल्याइएको र बिहीबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सयौँ भक्तजनको सहभागितामा लिङ्गो खडा गरिएको चन्दननाथ भैरवनाथ गुठिले जनाएको छ । 

चन्दननाथ मन्दिरको लिङ्गोमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको छ । भैरवनाथ मन्दिरको लिङ्गोमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राखिएको छ । साथै दुवै मन्दिरमा करिब ४२ हाले सहायक लिङ्गो खडा गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताउनुभयो ।  

चन्दननाथ भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिसकेपछि मात्र जुम्लाका घरघरमा घटस्थापना गर्ने चलन छ । अध्यक्ष कठायतले भन्नुभयो,“मन्दिरकै माटो लिएर जमरा राख्ने चलन छ । भने, १४९८ सालबाट यो मन्दिरमा लिङ्गो खडा गर्ने परम्परा रही आएको छ  । मन्दिरमा विजय स्तम्भ सहित २ वटा लिङ्गो खडा गरिएको हो ।” 

चन्दननाथ भैरवनाथ मन्दिरका नयाँ लिङ्गो फेरिए सँगै जुम्लामा विधिवत् रुपमा दशै शुरु भएको मानिन्छ । पछिल्लो समय भक्तजनहरूको सङ्ख्या भने घटेको देखिन्छ । सुरक्षाकर्मीकै भरमा लिङ्गो काटेर ल्याउने देखि ठड्याउने सम्म हुने गरेको छ । 

त्यस्तै घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नआवस भन्ने कामना सहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सी धानको (सिक) चढाउने समेत परम्परा रहेको जुम्लाका संस्कृतविद् रमानन्द आर्चायले बताउनुभयो । 

शताब्दी पहिले नै चन्दननाथ बाबाले काश्मिरबाट मार्सी धानको बिउ ल्याएका थिए । त्यस पश्चात् जुम्लाकै तातोपानी २ मा पर्ने गुरु फोक्टो नामक खेतमा महापुरुष लछालकृत्ति पैकेलाले पहिलो पटक मार्सी खेती शुरु भएको ऐतिहासिक रहेको छ । जसका कारण जुम्ली किसानले आफु खानुभन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने गर्छन् । 

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जुम्लाका बडिमालिकामा घटस्थापनाका दिन मन्दिरका लिङ्गो फेर्ने परम्परा संस्कृतिको आफ्नै विशेषता रहेको बताउनुभयो  । धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण जुम्लाको विकासमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो  । 

जुम्लामा आउँदा यहाँका विभिन्न संस्कृति परम्परा देखेर निकै खुसीसँगै देवभूमिमा आएको महसुस भएको समेत प्रजिअ प्रसाईँले उल्लेख गर्नुभयो । आफ्नो चिताएको पुरा हुने भन्दै मन्दिरमा करिब १ हजार बढी भक्तजनहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button