दोधारा चाँदनी नगरपालिकामा पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित रहेको स्वास्थ्य चौकी चाँदनीमा नेपाल नेत्र ज्योति सङ्घ गेटा आँखा अस्पताल र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आँखा उपचार केन्द्रको स्थापनाले एउटा विकासको खुड्किलो थपिएको वडाध्यक्ष सुनारले बताएका छन् । आँखाका समस्या भएकाहरूले टाढा–टाढा गएर महँगो उपचार गर्ने समस्या हटेको वडा अध्यक्ष सुनारको भनाई रहेको छ ।
आँखा जस्तो संवेदनशील कुरा दक्ष प्राविधिक भएको आँखा उपचार केन्द्र घर नजिकै भएको हुँदा जनताहरू निकै हर्षित भएका छन् । वडाध्यक्ष सुनारको पहलमा चाँदनी स्वास्थ्य चौकीको ५ कोठे भवनमा हालको लागि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।
चस्मा बनाउने, ओपिडी सेवा, शल्यक्रिया लगाएका सेवा प्रदान गरिँदै आएको बताइएको छ । आँखाको समस्या हुनेमा बढी जसो वृद्धवृद्धा रहने हुँदा टाढा र महँगा अस्पतालमा लगेर उपचार गर्ने समस्या टरेको स्थानीयवासी धनसरा नाथले बताएका छन् । ‘हाम्रै घर नजिक आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि हामीहरूमा निकै खुशी भएका छौँ’ स्थानीयवासी धनसरा नाथले बताए ।
आँखा उपचार केन्द्रमा डा. सुशान्त शर्मा लगायतका टिम कार्यरत रहेका छन् । केही दिन अघि मात्रै सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रले समय अनुकूल व्यवस्थित तथा आधुनिकीकरण गर्दै लाने दोधारा चाँदनी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्