कुपिण्डे तालमा चहलपहल बढ्दै

सल्यान । कोरोना भाइरसका कारण लामो समयदेखि सुनसान जस्तै बनेको कुपिण्डे तालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ ।
झन्डै दुई वर्ष सुनसान बनेको कुपिण्डे ताल पछिल्लो समय भने भरिभराउ हुन थालेको हो ।
मौसममा सुधार तथा कोरोनाको डर पनि कम हुँदै जाँदा तालमा पर्यटकको सङ्ख्या बढ्दै जान थालेको स्थानीय शेरजंङ्ग कँवरले बताउनुभयो ।
विगतमा दिनमा मुस्किलले ५जना आउने तालमा आजभोलि दैनिक २५ देखि ३० जनासम्म आउने गरेको कुपिण्डे ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष धनसिङ्ग बस्नेतले बताउनुभयो । शनिवार र अन्य सार्वजनिक बिदाको दिन उक्त सङ्ख्या बढेर एक सयदेखि १ सय ५० सम्म पुग्ने गरेको उहाँको भनाई छ ।

कुपिण्डेको विषयमा सुनेको भए पनि प्रत्यक्ष अनुभव गर्न कुपिण्डे तालमै आइपुगेको बाँकेका पर्यटक निरज ओलीले बताउनुभयो ।
प्राकृतिक सुन्दरताले भरिएको तालमा व्यवस्थित होटेल, बगैँचा र सरसफाइमा स्थानीय सरकारले ध्यान दिन सके यसबाट स्थानीयले राम्रो आम्दानी गर्न सक्ने पर्यटकको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्