एमाले प्रथम विधान महाविधेशनः प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनको दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएको छ ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो ।
ती प्रतिवेदनहरूमाथि १० समूहमा छलफल भएको र विभिन्न ५ बटा समूहबाट सुझावहरू पनि प्रस्तुत गरिएको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
आजको छलफलमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, केन्द्रीय निकाय र विभागहरूको सुझाव प्रस्तुत भएको एमालेले जनाएको छ ।
छलफलमा आगामी दिनमा नेकपा एमालेलाई अझ सशक्त बनाउने गरी अगाडी बढ्नुपर्ने र पार्टीमा पदाधिकारीहरूको सङ्ख्या बढाउनुपर्ने लगायतका विषयहरू सुझावका रुपमा आएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
विधान महाधिवेशनको भोलि हुने सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनबारे जवाफ दिनुहुने एमालेले जनाएको छ ।
यसैगरी महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदनबारे र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनुहुने बताइएको छ ।
नेकपा एमालेको विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी रहेका छन् ।
विधान महाधिवेशन भोलिसम्म चल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्